चालू आर्थिक वर्षको बजेटमा सरकारले निजामती कर्मचारीलार्ई आवास योजना अघि सारेपछि कोषले काम अघि बढाएको हो । कोषमा ६ लाखभन्दा बढी सञ्चयकर्ता आबद्ध छन् । यी मध्ये कतिपयले कोषबाट सापटी लिएर घर बनाइसकेका छन् । कतिपयले बनाइरहेका छन् ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई बनाउन लागेको सामूहिक आवासको खाका (डिजाइन) तयार पारेको छ । कोषको प्राविधिक टोलीले भवन निर्माणको खाका तयार पारेको हो । भवन निर्माणको खाका आउँदो सञ्चालक समिति बैठकमा पेस हुने कोषका प्रशासक तुलसी गौतमले बताए । सञ्चालक समितिबाट पारित भएपछि आवास निर्माणको काम यो वर्षदेखि नै सुरु हुने उनले जानकारी दिए ।
सञ्चालक समितिबाट पारित भएपछि भवन निर्माणका लागि काम अघि बढाउने गौतमले बताए । यसपछि बोलपत्र आह्वान गरी भवन निर्माणको काम सुरु गरिने गौतमले सुनाए । चालू आर्थिक वर्षको बजेटमा सरकारले निजामती कर्मचारीलार्ई आवास योजना अघि सारेपछि कोषले काम अघि बढाएको हो । कोषमा ६ लाखभन्दा बढी सञ्चयकर्ता आबद्ध छन् । यी मध्ये कतिपयले कोषबाट सापटी लिएर घर बनाइसकेका छन् । कतिपयले बनाइरहेका छन् ।
कोषले पहिलो चरणमा चितवनमा आफ्नै स्वामित्वमा रहेको ४ बिगाहा १० कठ्ठा जग्गामा आवास बनाउने तयारी गरेको गौतमको भनाइ छ । कोषले आवास इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्रयाक्ट ( ईपीसी) मोडलमा बनाउने छ । सो जग्गामा १५० ओटासम्म आवास बन्न सक्ने अध्ययनले देखाएको छ ।
कोषले विस्तारै आवास बनाउँदै जाने भएको छ । सातै प्रदेशमा आवास बनाउने तयारी कोषको छ । राष्ट्रसेवक कर्मचारीलाई घडेरी खोज्ने, घर बनाउने लगायत झन्झट हट्ने कोषको भनाइ छ । कोषले बनाउने आवास अन्य कम्पनीको भन्दा सस्तो हुने गौतमले जानकारी दिए । लागतमा बढीमा १० प्रतिशत थपेर सञ्चयकर्तालाई आवास बिक्री गर्ने तयारी कोषको छ । कोषले चालू आर्थिक वर्षका लागि घरकर्जाको ब्याजदर बढाएर ९.७५ प्रतिशत पुर्याएको छ ।
कोषले आफ्नो लगानीमा मङ्सिरदेखि ६ लाख सञ्चयकर्तालाई १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा योजना कार्यान्वयनमा ल्याइसकेको छ ।