प्रधानमन्त्रीले भने— जुम्रा मार्न होइन, देश बनाउन आएका हौं

श्रम, रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयले मङ्गलबारदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा जुम्रा मार्न आएका हैनाैं, सिन्को भाँच्न पनि आएका हैनौं, हामी देश बनाउन आएका हौं, अहिले हामी देश बनाइरहेका छाैं, अब केही दिनभित्रमा मेलम्ची आउँदै छ, कलङ्की—नागढुङा सडक बनिसकेको छ, काठमाडौंको सडकमा पानी हालेर धूलो नियन्त्रण गर्छौं ।’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सरकार हरायो भन्नेहरुलाई आफूहरु झारा टार्न सरकारमा नआएको प्रतिक्रिया दिएका छन् । ‘सरकार कहाँ छ भन्नेहरुलाई म भन्न चाहन्छु, अब सरकार कहाँ छ भनेर मजदुरलाई सोध्नुस्, श्रमिकलाई सोध्नुस्, बूढाबूढी बाआमालाई सोध्नुस्, उहाँहरुले भन्नुहुनेछ— सरकार यहाँ छ भनेर ।’

श्रम, रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयले मङ्गलबारदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सरकारमा जुम्रा मार्न आएका हैनाैं, सिन्को भाँच्न पनि आएका हैनौं, हामी देश बनाउन आएका हौं, अहिले हामी देश बनाइरहेका छाैं, अब केही दिनभित्रमा मेलम्ची आउँदै छ, कलङ्की—नागढुङा सडक बनिसकेको छ, काठमाडौंको सडकमा पानी हालेर धूलो नियन्त्रण गर्छौं ।’

सरकारले गरेको काम देखिनँ भन्नेहरुलाई नै देखाउन सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न यो तामाझाम गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘अहिले हामीले धेरै तामझाम गरेका छैनाैं, यो सुरुवात हो,’ उनले भने, ‘अब अरु काम गर्दा नौमती बाजा बजाएर सार्वजनिक गर्छौं ।’

अहिले भएको मन्त्रीको टिम भएन भन्नेहरुलाई धमाधम परिणाममुखी काम सार्वजनिक गर्दै जाने उनको भनाइ छ । त्यसका लागि सबैलाई एकजुट भएर लाग्नसमेत उनले निर्देशन दिए ।

श्रममन्त्री गोकर्ण विष्टले श्रमप्रतिको सम्मान बढाउन सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएकाले सबैको सहभागिता अनिवार्य रहेको धारणा राखे । नेपाल उद्योग वाणिज्य सङ्घकी अध्यक्ष भवानी राणाले सामाजिक सुरक्षा कोषलाई कार्यान्वयन गर्न महासङ्घ तयार रहेको बताइन् । ‘निजीक्षेत्रका तर्फबाट हामी यो काम गर्न तयार छौं,’ उनले भनिन्, ‘सरकारका तर्फबाट पनि त्यसमा विषेश ध्यान जाओस् ।’ उद्योगको विकास भए मात्र श्रमिकले रोजगारी पाउने भएकाले उद्योग सञ्चालनका लागि सरकारले राम्रो वातावरण बनाइदिन उनको आग्रह छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले श्रमिकको खुसी नै उद्योगीहरुको पनि खुसी हुने भएकाले सामाजिक सुरक्षा कोषलाई लागू गर्न तयार रहेको बताए । आगामी १० वर्षभित्र यो कोष सबैभन्दा ठूलो हुने भएकाले सरकारले सञ्चालन प्रक्रियामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले उद्योगी र श्रमिकको सहमतिमै कोषको स्थानपना भएकाले आफूहरु यसको पक्षमै रहेको बताए । तर सञ्चालन कार्यविधि भने चुस्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषबाट सबै पक्ष लाभान्वित हुने धारणा राखे । कोषका लागि विभिन्न ट्रेड युनियन र सङ्घसङ्गठनका प्रमुखले ऐक्यबद्धता जनाएका छन् ।