सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्यकारी अध्यक्ष खरेलले आन्तरिक उडानका लागि जहाज मर्मत गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल वायुसेवा निगम (एनएसी)ले आन्तरिक उडानमा प्रभाव जमाउन नसकेको आरोप लागिरहेका बेला नयाँ व्यापारिक योजना बनाइरहेको छ । आगामी माघभित्र हाल ग्राउन्डेड भएका सम्पूर्ण जहाज मर्मत गरी सञ्चालनमा ल्याइसक्ने योजनाका साथ अघि बढिरहेको एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलको भनाइ छ ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्यकारी अध्यक्ष खरेलले आन्तरिक उडानका लागि जहाज मर्मत गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् । जहाज मर्मतसम्भार हुन नसकेकै कारण हाल आन्तरिक उडानमा एनएसीले राम्रो प्रभाव राख्न नसकेको बताउँदै उनले अब त्यस्तो समस्या नआउने गरी काम अघि बढेको जानकारी दिए ।
एनएसीभित्र भएका केही विकृतिहरुलाई हटाउँदै आगामी केही महिनाभित्रै उपलब्धिमूलक काम गर्दै जाने अध्यक्ष खरेलको भनाइ छ । निगमसँग आन्तरिक उडानका लागि ९ ओटा जहाज छन् । तीमध्ये ३ ओटा जहाज ग्राउन्डेड छन् भने ३ ओटाको मर्मत भइरहेको छ । एनएसीले हाल २५ ओटा सेक्टरमा उडान भर्दै आएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठमा बोल्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एनएसीकै कर्मचारीहरु निजी एयरलाइन्ससँग मिलेमतो भएको आशङ्का व्यक्त गरेका थिए । उनले एनएसीले टिकट बिक्रीका लागि तोकेको एजेन्टले पनि निजी एयरलाइन्सको टिकट बिक्री गरेको हुन सक्ने भन्दै एनएसी सञ्चालकको ध्यानाकर्षण गराएका थिए ।
यस्तै सार्वजनिक लेखा समितिका सदस्य लेखराज भट्टले एनएसी धरासयी बनाएर निजी कम्पनीलाई फस्टाउन सहयोग पु¥याउने खेलमा लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । एनएसीले जारी गरेको श्वेतपत्रले जनमानसमा नराम्रो प्रभाव परेको भन्दै त्यसलाई चिर्नका लागि तत्कालै नयाँ काम गरेर देखाउन एनएसी व्यवस्थापनलाई निर्देशन समेत दिएका छन् ।
नेपाली काङ्ग्रेसकी नेतृ एवम् सभाषद सुजाता कोइरालाले एनएसीले आन्तरिक बजारमा हिस्सा ओगट्न नसकेको प्रति चिन्ता व्यक्त गरेकी छन् । निजी क्षेत्रका विमान सधैँ भरिभराउ हुने र सेवा सुविधा पनि राम्रो हुने गरेको उनको भनाइ छ । एनएसीले तत्कालै आन्तरिक उडानमा वृद्धि गर्नुका साथै सेवामा पनि चुस्त बनाउनेतर्फ ध्यान दिन अनुरोध गरेकी छन् ।