एक अर्ब १५ करोड लगानीकाे घलेम्दी जलविद्युत अन्तिम चरणमा,  आर्इपीओ जारी गर्ने तयारी

पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ ।

पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले बताए ।

म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा विसं २०७१ कात्तिकदेखि निर्माण सुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६ सय ९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट (फोरवे) तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६ सय ९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ ।

निलगिरिखोलाको बायाँ किनारमा विद्युत् गृह निर्माणमा दैनिक करिब १ सय मजदुर परिचालन भएका छन् । विद्युत् गृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग) को दूरी १ सय ७५ मिटर अग्लो छ ।

विसं २०७४ चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताए । वनसम्बन्धी कानुन र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उनको भनाइ थियो ।

पहिले चार मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ५.५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युत् गृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा ६५ करोड लागत अनुमान गरिएको सो आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर एक अर्ब १५ करोड पुग्ने अनुमान गरिएकोे छ ।

एक हजार ३ सय जनाको ३५ करोड ५० लाख संस्थापक सेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड लगानी गरेको छ ।

साधारण सेयर (आर्इपीओ) जारी गर्ने तयारी भएको र १५ लाख ५५ हजार ७७० कित्ता सेयर सर्वसाधारणका लागि आर्इपीओ जारी गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिने जनाइएको छ । रासस