राष्ट्र बैङ्कले गर्यो भौतिक प्रगति निरीक्षण, पूर्वाधार बैङ्क सञ्चालनको अन्तिम तयारी

सरकार र निजी लगानीकर्ताबाट बैङ्कमा स्वपुँजी रकम जम्मा भइसकेको छ । बैङ्कको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ । बैङ्कमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ ।

काठमाडौं : सार्वजनिक तथा निजी क्षेत्रको बृहत् लगानीमा स्थापना भएको पूर्वाधार बैङ्क सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । बैङ्कले आवश्यक भौतिक पूर्वाधारको काम सकेको छ ।

नेपाल राष्ट्र बैङ्कको टोलीले बैङ्क सञ्चालन अनुमतिका लागि बुधबार नै भौतिक पूर्वाधार निरीक्षणको काम सकेको छ । राष्ट्र बैङ्कले बेग्लै निर्देशन जारी गरेपछि सञ्चालमा आउने बैङ्क स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका डा. विनोद आत्रेयले बताए । सञ्चालनका लागि निवेदन दिइसकेको र भौतिक पूर्वाधारको काम सम्पन्न भएकाले राष्ट्र बैङ्कबाट स्वीकृति पाउनासाथ कारोबार सुरु गर्ने उनले जानकारी दिए । केन्द्रीय बैङ्कको अन्तिम स्वीकृति कुरिरहेको आत्रेयको भनाइ छ ।

सरकार र निजी लगानीकर्ताबाट बैङ्कमा स्वपुँजी रकम जम्मा भइसकेको छ । बैङ्कको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ । बैङ्कमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूहमा ४० प्रतिशत स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार संस्थापकतर्फ १२ अर्ब र सर्वसाधारणको ८ अर्ब रुपैयाँ स्वामित्व छ ।

बैङ्कमा सरकारको २ अर्ब रुपैयाँ लगानी छ । यसैगरी ५ ओटा वाणिज्य बैङ्क, १० ओटा बिमा कम्पनी र व्यवसायीसमेत गरी ४१ जनाको लगानी छ । बैङ्कमा इमर्जिङ नेपाल लिमिटेडले २५ करोड लगानी गरेको छ ।

यसैगरी एनआईसी एसिया, प्रभु, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई र सिद्धार्थ बैङ्कका अतिरिक्त प्रुडेन्सियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, एसियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्व छ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकालका साथै गोल्छा अर्गनाइजेसनबाट आकाश गोल्छा, हेमन्त गोल्छाका साथै व्यवसायी शशिकान्त अग्रवाल, बोधप्रसाद त्रिपाठी, प्रकाश मुन्दडा तथा सुशील गुप्ताले स्वपँुजी लगानी गरेको बैङ्कले जनाएको छ ।

देशका ठूला पूर्वाधार आयोजनामा कर्जा प्रवाह, सेयरमा लगानी, ठूला आयोजना बनाउन प्रतितपत्र खोल्ने, बन्ड निष्कासन, स्वपुँजी जुटाउन, जमानतपत्र जारी, स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी र दीर्घकाल प्रकृतिको निक्षेप स्वीकार गर्ने सङ्कलन गर्ने छ ।

बैङ्कले हाल सञ्चालनमा रहेका वाणिज्य बैङ्कको जस्तो निक्षेप परिचालनको काम गर्न पाउने छैन । यसले विभिन्न बन्डलगायत वित्तीय औजारको प्रयोगबाट पूर्वाधारमा लगानी जुटाउने छ ।