नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको उपलक्ष्यमा देश भरका लघुवित्त सदस्यलाई एक साथ भेला गराउने उद्देश्य रहेको आयोजकले बताएका छन् ।
स्वावलम्बन विकास केन्द्रको आयोजनामा दुई दिने दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । देशभरका लघुवित्त सदस्यसँग अन्तरक्रिया गर्ने उद्देश्यसहित यही मङ्सिर १५ र १६ गते राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको उपलक्ष्यमा देश भरका लघुवित्त सदस्यलाई एक साथ भेला गराउने उद्देश्य रहेको आयोजकले बताएका छन् । लघुवित्तबाट धेरै फाइदा हुने भएपछि पछिल्लो समय लघुवित्त खोल्ने लहर चलेको र लघुवित्तमा विकृति भित्रिएकाले त्यसलाई निराकरण गर्न सम्मेलन गर्न लागिएको स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले बताए । राष्ट्रिय सदस्य सम्मेलन गर्न लागिएको अन्तर्राष्ट्रिय स्तरमै पहिलो र उदाहरणीय भएको श्रेष्ठको भनाइ थियो ।
‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुने सम्मेलनमा करिब ७० ओटा लघुवित्त सहभागी हुने बताइएको छ । लघुवित्त संस्थाहरु नाफामूलक कम्पनी नभई सामाजिक विकासमा आधारित कम्पनी भएकाले स्वच्छ रुपमा लघुवित्त सञ्चालन हुनु पर्ने माग आयोजकले राखेका छन् ।
सम्मेलनमा सहभागी हुने ७० संस्थामध्ये ३६ लघुवित्त वित्तीय संस्था, विकास बैङ्क बनेका १२ संस्था, विकास बैङ्क बन्ने प्रयासमा रहेका १२ संस्था, ५ वाणिज्य बैङ्क, ३ विकास बैङ्क र २ वित्त कम्पनी रहने आयोजकले जानकारी दिएको छ ।