काँकडभिट्टाबाट आउने पर्यटक बढे

यस वर्ष पूर्वीनाका हुँदै पैदल मार्ग भएर सबैभन्दा बढी यूएसए र भुटानी पर्यटक नेपाल घुम्न आएका छन् ।

देशको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटक बढेको काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या सात हजार ५ सय २८ पुगेको कार्यालय प्रमुख रामप्रसाद फुयाँलले जानकारी दिए । यो सङ्ख्या सन् २०१६ को तुलनामा एक हजार ३ सय २३ जनाले बढेको हो । यस वर्ष पूर्वीनाका हुँदै पैदल मार्ग भएर सबैभन्दा बढी यूएसए र भुटानी पर्यटक नेपाल घुम्न आएका छन् । हरेक वर्ष बङ्गलादेशी पर्यटकको सङ्ख्या वृद्धि भए पनि सन् २०१७ मा पूर्वी नाका हुँदै नेपाल आउने बङ्गलादेशी पर्यटक भने कम भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । सन् २०१६ मा यो नाका भएर दुई हजार ३ सय ४८ बङ्गलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा दुई हजार २५ जना मात्र आएका छन् । यो सङ्ख्या सन् २०१६ को तुलनामा ३ सय २३ ले कमी हो ।

विसं २००८ मा दिल्लीको ताज होटलमा आक्रमण भएलगत्तै भारतले बङ्गलादेशीलाई दोहोरो प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउन छाडेका कारण त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको कार्यालय प्रमुख फुँयालको भनाइ छ । यो वर्ष भुटानका एक हजार ६ सय १६ र यूएसएका ८ सय ८२ पर्यटक काँकडभिट्टा भएर नेपाल प्रवेश गरेका छन् । पूर्वी नाकाबाट भित्रिने मात्र होइन बाहिरिने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । सन् २०१६ मा पाँच हजार ७ सय १९ र सन् २०१७ मा छ हजार ७ सय ४८ पर्यटक यहाँबाट बाहिरिएका छन् ।