ऋण तिर्न नसकेपछि आफ्नै बसमा आगजनी !

आजगनीमा बसकै सञ्चालकको हातभएको हुनसक्ने प्रहरीले आशङ्का गर्यो र बसका चालक रामेछाप मन्थली नगरपालिका ५ का ४८ वर्षीय शम्भु कार्की र सहचालक लिखु गाउँपालिका ५ का २५ वर्षीय दिनेश बरुवाललाई नियन्त्रणमा लियो ।

काठमाडौं : मोरङको बेलबारीमा ऋण तिर्न नसकेर २ व्यवसायीले आफ्नै बसमा आगजनी गरेका छन् । आफ्नै बसमा आगजनी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको मङ्गलवार मोरङको ग्रामथान गाउँपालिका ५ को मसान चोकमा राति १० बजे बा ३ ख ८०७४ नम्बरको माइक्रो बसमा आगजनी भयो ।

अज्ञात समूहले बसमा आगजनी गरेको र बसमा भएका साम्रगीहरु लुटिएको भन्दै ईलाका प्रहरी कार्यालय हरैचामा खबर आयो । उक्त खबरपछि प्रहरी घटनास्थल पुग्यो । स्थानीयवासी र दमकलको सहयोगमा उक्त आगो राति ११ बजे नियन्त्रणमा आयो । आगो नियन्त्रणमा आइसकेपछि आगजनी कसले र के कारणले गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान थाल्यो ।

आजगनीमा बसकै सञ्चालकको हातभएको हुनसक्ने प्रहरीले आशङ्का गर्यो र बसका चालक रामेछाप मन्थली नगरपालिका ५ का ४८ वर्षीय शम्भु कार्की र सहचालक लिखु गाउँपालिका ५ का २५ वर्षीय दिनेश बरुवाललाई नियन्त्रणमा लियो ।

अज्ञात समूहले आगजनी गरेको भन्दै प्रहरीमा उजुरी गर्ने सञ्चालकलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुल्यो ।

गाडी पुरानो भई ऋणसमेत चुक्ता गर्न नसकेको र बिमालगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने उद्देश्यले योजनाबद्ध रूपमा आफैले पेट्रोल लगाई जलाएको भन्दै पक्राउ परेका गाडी सञ्चालकले प्रहरीमा स्वीकार गरेका छन् ।

आफ्नै बसमा आगो लगाउने ती दुवै जनालाई प्रहरीले थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।