आयोजनामा हाइड्रो चाइनाको १०० प्रतिशत स्वामित्व हुने विद्युत् विकास विभागले जानकारी दिएको छ । हाइड्रो चाइनाले अपर त्रिशूली हाइड्रोपावर प्राइभेट लिमिटेडमार्फत् आयोजना बनाउने भएको विभागले जनाएको छ ।
काठमाडौं : चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजना बनाउने भएको छ ।
सरकारले हाइड्रो चाइनालाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ । आउदो ३५ दिनपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले चिनियाँ कम्पनीलाई लाइसेन्स दिने छ । हाइड्रो चाइना चीनको ठूलो कम्पनी हो ।
आयोजनामा हाइड्रो चाइनाको १०० प्रतिशत स्वामित्व हुने विद्युत् विकास विभागले जानकारी दिएको छ । हाइड्रो चाइनाले अपर त्रिशूली हाइड्रोपावर प्राइभेट लिमिटेडमार्फत् आयोजना बनाउने भएको विभागले जनाएको छ ।
आयोजनाबाट वार्षिक ५९ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यत्ता अध्ययनले देखाएको छ । आयोजनामा ५१ मेगावाट क्षमताका २ ओटा फ्रान्सिसको टर्बाइन जडान गरिने कम्पनीले जनाएको छ ।
नदीको बहावमा आधारित (रन अफ दि रिभर) आयोजनाको हेड १२३ मिटर छ । आयोजना रसुवा जिल्लाको स्याफ्रु गोसाइँकुण्ड गाउँपालिका र गोल्जुङ पार्वतीकुण्ड गाउँपालिकामा पर्छ । काम सुरु भएको ५६ महिनामा आयोजनाको काम सकिने अपर त्रिशूलीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली २२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारणलाइनबाट नुवाकोटमा रहेको त्रिशूली ३ बी हबमा जोडिने योजना छ ।
आयोजना बनाउन सरकारले हाइड्रो चाइनालाई २० अर्ब ३८ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले जविद्युत् उत्पादनका लागि स्वीकृति प्रदान गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणसँग अमेरिकी डलरमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत् उत्पादन लाइसेन्स पाएपछि कम्पनीले निर्माण थाल्ने छ ।
२०६७ मै सर्वेक्षण लाइसेन्स पाएको चाइना हाइड्रोले माथिल्लो त्रिशूली २ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी विभागमा बुझाएको छ । आयोजनाको अनुमानित लागत साढे १६ अर्ब रुपैयाँ छ । चाइना हाइड्रोले चीनसहित पाकिस्तान, अफ्रिका र ल्याटिन अमेरिकामा ठूला जलविद्युत् आयोजना निर्माण गरेको छ । नेपालमा भने उसको यो पहिलो ठूलो आयोजना हो ।
चिनियाँ लगानीमा ७५ मेगावाट क्षमताको २ जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । चीनको सिनो हाइड्रो कर्पोरेसनले नेपालको चितवन कोई समूहसँगको सहकार्यमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए आयोजना बनाइसकेको छ । यसमा सिनोको ९० र चितवन कोईको १० प्रतिशत स्वामित्व छ । यस्तै चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले (सीडब्ल्यू) नेपालको गोरखा कन्स्ट्रक्सन कम्पनीसँगको साझेदारीमा २५ मेगावाटको माथिल्लो मादी आयोजनाबाट गत वर्षदेखि बिजुली उत्पादन गरिसकेको छ । यसमा सीडब्ल्यूईको ८० र २० प्रतिशत गोरखाको छ ।