भिजन लुम्बिनीमा आबद्ध १ हजार सदस्यले ५ लाखदेखि १ करोड रुपैयाँसम्म लगानी गरेका छन् । कास्कीको सर्दिखोला माछापुच्छ्रे गाउँपालिकाको सीमामा सो आयोजनास्थल रहनेछ ।
खस्यौली । सामूहिक लगानीमा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको काम शुरु भएको छ । भिजन लुम्बिनीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने आयोजनाका अध्यक्ष जगत् पोखरेलले जानकारी दिए।
५ अर्ब रुपैयाँ अनुमानित लगात रहेको २५ मेगावाट क्षमताको सो आयोजनामा भिजन लुम्बिनीमा आबद्ध १ हजार सदस्यले ५ लाखदेखि १ करोड रुपैयाँसम्म लगानी गरेका छन् । कास्कीको सर्दिखोला माछापुच्छ्रे« गाउँपालिकाको सीमामा सो आयोजनास्थल रहनेछ ।
नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच गएको मङ्सिर ६ गते विद्युत् खरीद सम्झौता (पिपिए) भएको छ । आयोजनासँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा खरीद दर निर्धारण गरिएको छ । “हामीले विद्युत् खरिद सम्झौता गरिसकेका छौँ अब जलविद्युत् आयोजनाको भविष्य के हुने र त्यसबाट उत्पादन भएको विद्युत् कहाँ निर्यात गर्ने भन्ने विषय सरकारको हो”, भिजन लुम्बिनीका वित्त निर्देशक ज्ञानेन्द्र कसजुले भने।
आयोजनाले गत साउन १७ गते पोखरामा सेती नदी जलविद्युत् आयोजना र माछापुच्छे गाउँपालिका– २ का स्थानीयसँग आयोजना निर्माणका लागि विभिन्न सम्झौता पनि गरेको छ । भिजन लुम्बिनीले यसबाहेक स्वास्थ्य, शिक्षा, अर्थ तथा वित्त, पर्यटन विकास, अध्ययन अनुसन्धान तथा जनसम्पर्कलगायतका क्षेत्रमा पनि काम गर्ने जनाएको छ ।