विपन्न परिवारलाई बीउ पुँजी

बागलुङको ताराखोला गाउँपालिकाले अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यको लागि बीउ पुँजीको रुपमा पशुपक्षी निःशुल्क उपलब्ध गराउने भएको हो ।

बलेवा : विपन्न परिवारको जीवनस्तर सुधारका लागि यहाँको एक गाउँपालिकाले पशुपक्षीको बीउ पुँजी उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ ।

बागलुङको ताराखोला गाउँपालिकाले अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यको लागि बीउ पुँजीको रुपमा पशुपक्षी निःशुल्क उपलब्ध गराउने भएको हो । गाउँपालिकाले पशु सेवा शाखामार्फत यसवर्ष १५ लाख रूपैयाँबराबरको बीउ पुँजी किसानलाई उपलब्ध गराउने पशु सेवा शाखाका प्रमुख होमबहादुर थापा मगरले जानकारी दिए ।

‘‘हामीले किसानसँग निवेदन माग गरेका छौं, निवेदनका आधारमा अनुगमन गरेर विपन्न भएको प्रमाणित भएमा बीउ पुँजीको व्यवस्था गाउँपालिकाले गर्नेछ’’ थापाले भने ।

विपन्न किसानलाई प्रतिपरिवार एकएक अाेटाका दरले पशु चौपाया उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाले चार समूहमा विभाजन गरेर निःशुल्क बीउ पुँजी पशुपक्षी वितरण गर्ने जनाएको छ । गरीब तथा विपन्न किसानलाई स्थानीय र उन्नत जातका गाई, भैंसीपालन र कोरली पालनका लागि बीउ पुँजी उपलब्ध गराइने छ ।

गोठ सुधार गर्न चाहनेको लागि समेत अनुदान उपलब्ध गराइने छ । तीन जना सहभागी हुन पाउने यस कार्यक्रमको लागि आफैँ लगानी गर्न नसक्ने र अनुदानमा आएको पशु चौपायबाट उत्पादन गर्नसक्ने योजना बनाएका किसानलाई मात्र यो कार्यक्रममा सहभागी गराइने थापाले बताए ।

त्यस्तै १० जनाका किसानलाई स्थानीय तथा उन्नत जातका बाख्रापालनका लागि बीउ पुँजी उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । स्थानीय जातका कुखुरा संरक्षण गर्दै आयमूलक हिसाबले उन्नत जातका कुखुरापालन गर्ने किसानलाई पनि बीउ पुँजी उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ ।

गरीब तथा विपन्न किसानलाई सहयोग गर्ने कार्यक्रमअन्तर्गत २० जना किसानले कुखुरापालनको लागि बीउ पुँजी पाउने थापाले जानकारी दिए । गरीब तथा अति गरीब विपन्न परिवारका किसानका लागि स्थानीय जातका बाख्रापालन गर्न १० जना र स्थानीय तथा उन्नत जातका कुखुरापालन गर्न १२ जनालाई बीउ पुँजी उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

एकल महिलालाई आयआर्जनसँग जोडेर जीवन गुजारा गर्ने माध्यम बनाउनका लागि भन्दै १५ जनालाई भेडाबाख्रापालन र १५ जनालाई कुखुरापालनको लागि बीउ पुँजी उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जनाकारी दिए ।

गाउँपालिकाले द्वन्द्वपीडितलाई पनि समावेश गरेर बीउँ पुँजी वितरणको कार्यक्रम बनाएको छ । द्वन्द्वपीडित परिवारका २० जना किसानलाई भेडा बाख्रापालन र २० जना किसानलाई कुखुरा पालनको लागि बीउ पुँजी अनुदान उपलब्ध गराइने घर्तीले बताए । यो वर्ष पशु तथा पशुपक्षीपालनका लागि १२५ जना किसान लाभान्वित हुने गरी कार्यक्रम तयार पारिएको घर्तीले बताए ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफू विपन्न भएको प्रमाण र पशु तथा पक्षीपालन गरेर आर्थिक उन्नति गर्ने योजनासहित अनुदानका लागि निवेदन माग गरेको छ । बीउ पुँजीको रुपमा उपलब्ध गराइएका पशुपक्षीको औषधि उपचार गाउँपालिकाले गर्ने जनाएको छ ।

किसानले उत्पादनमूलक हिसाबले पालेका पशुपक्षीमा कुनै रोगको सङ्क्रमण भए गाउँपालिकाको प्राविधिक टोलीले निःशुल्क उपचार गर्ने शाखा प्रमुख थापाले बताए । पहिलो चरणमा शुरु गर्न थालिएको बीउ पुँजी वितरण कार्यक्रमलाई सफल बनाउनका लागि गाउँपालिकाले किसानलाई आग्रह समेत गरेको छ ।

बजारमा भाउअनुसार पशुपक्षी खरीद गर्न नसकेका कारण व्यावसायिक पशुपक्षी पालन गर्न नसकेका किसानलाई आकर्षित गर्दै व्यावसायिक उत्पादनमा प्रेरित गर्न कार्यक्रम शुरु गरिएको अध्यक्ष घर्तीले बताए । – तारानाथ आचार्य/रासस