सडक सञ्जालमा म्याङ्लुङ र फिदिम जोडिए

कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । ट्याक्सी सञ्चालन हुन थालेपछि एक फन्को मारेर फिदिम पुग्नुपर्ने बाध्यताबाट यात्रुलाई राहत मिलेको छ ।

तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडक खुलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका छन् ।

यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सीधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म दैनिक एक/एकओटा ट्याक्सी सञ्चालन भइरहेका छन् । कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । ट्याक्सी सञ्चालन हुन थालेपछि एक फन्को मारेर फिदिम पुग्नुपर्ने बाध्यताबाट यात्रुलाई राहत मिलेको छ । सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आवतजावत गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो भने कम्तीमा पनि दुई दिन लाग्थ्यो ।

म्याङ्लुङ बसपार्कबाट फेदापको पोक्लाबाङ हुँदै थोक्लुङ–माझीटार सडकखण्डबाट पाँच घण्टामा फिदिम पुगिने ट्याक्सी चालक कुमार लिम्बूले बताए । ‘सडक कच्ची भए पनि चाँडै पुगिन्छ, यात्रु पनि पर्याप्त छन्’, उनले भने । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्दसमेत हुन थालेपछि अहिले तेह्रथुमबाट पाँचथर, इलाम, झापा हुँदै मोरङ आउनेसमेत यही सडकलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न थालेका छन् । तेह्रथुमबाट ताप्लेजुङ र इलाम जाने यात्रु अब एकै दिनमा पुग्न सक्छन् । ‘यो बाटो भएर ताप्लेजुङ, इलाम जाने पनि धेरै छन्, भाडा पनि सस्तो पर्छ, अहिले त यात्रुको पनि खाँचो छैन’, व्यवसायी सन्तोष निङलेकुले भने ।