अटो मेकानिक्स सङ्घको २४ औं वार्षिक साधारणसभाको उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध हुने ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सरकारले सबै वर्कसप एकै स्थानमा उपलब्ध हुने गरी अटोल्यान्ड निर्माण गर्ने भएको छ । अटो मेकानिक्स सङ्घको २४ औं वार्षिक साधारणसभाको उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध हुने ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए पनि लाखौं नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौंलाई रोजगारी प्रदान गरिरहेको र आगामी दिनमा आत्मसम्मानका साथ युवाहरु यो क्षेत्रमा लाग्ने वातावरण निर्माणका लागि सरकारले सहयोग गर्ने बताए । उनले यो क्षेत्रमा लाग्ने दक्ष जनशक्तिको आकलन गरी त्यस्ता जनशक्ति उत्पादनका लागि आवश्यक योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले देशमा भएका सबै सवारी साधनको गुणस्तरीय मर्मतका लागि राम्रो वातावरण निर्माण गर्नु पर्ने आवश्यकता भएको र यसका लागि सहकार्य गर्न चेम्बर पनि तयार भएको बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका अध्यक्ष यामप्रसाद भुसालले महासङ्घको नारा नै ‘प्रत्येक सहरमा सुविधासम्पन्न अटोल्यान्ड’ भएको बताउँदै सरकार र व्यवसायी मिलेर यसका लागि विभिन्न क्षेत्रमा सम्भाव्यता अध्ययन गरी त्यसै अनुरुप अगाडि बढ्नु पर्ने बताए ।
अटो मेकानिक्स व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष दीपक खड्काले वैदेशिक रोजगारीका कारण अटो मेकानिक्स र प्राविधिकहरु विदेश पलायन हुने क्रम बढेकाले यसका लागि देशमा ठूला पूर्वाधार निर्माणको आवश्यकताका साथै महानगर, उपमहानगर र नगरपालिकाहरुमा अटोल्यान्ड निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।
कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुले समेत अटोल्यान्ड निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।