बदलिँदो मौसम, बाढी, पहिरो तथा डुबानका कारण बालीनाली तथा कृषिजन्य वस्तुमा हुने क्षति न्यूनीकरणका लागि बिमा गर्ने किसानको सङ्ख्या बढेको हो ।
कृषि तथा पशुपक्षी बिमातर्फ हरेक वर्ष किसानको आकर्षण बढ्दै जान थालेको छ । बदलिँदो मौसम, बाढी, पहिरो तथा डुबानका कारण बालीनाली तथा कृषिजन्य वस्तुमा हुने क्षति न्यूनीकरणका लागि बिमा गर्ने किसानको सङ्ख्या बढेको हो ।
आर्थिक वर्ष २०७०/०७१ देखि आव २०७४/०७५ सम्म आइपुग्दा ५ वर्षमा कुल ३२ अर्ब रुपैयाँभन्दा बढी बिमाङ्क रकमको बिमा भएको छ । जसअनुसार आव २०७०/०७१ मा कृषि तथा पशुपक्षीतर्फ ६२ करोड ५४ लाख ४ हजार ६१३ रुपैयाँको बिमा भएको थियो । त्यस्तै आव २०७१/०७२ मा कुल ३ अर्ब १८ करोड ६८ लाख ३३ हजार ८९५ रुपैयाँको बिमा भएको थियो । आव २०७०/०७१ को तुलना २०७१/०७२ मा २ अर्ब ५६ करोड १४ लाख २९ हजार २ सय ८२ रुपैयाँ बढीको बिमा भएको हो । त्यस्तै, २०७२/०७३ मा ६ अर्ब ३ करोड ८४ लाख १२ हजार २२४ रुपैयाँको बिमा भएको थियो । जुन, आव २०७१/०७२ को तुलनामा २ अर्ब ८५ करोड १५ लाख ७८ हजार ३२९ ले बढी हो ।
त्यसैगरी, आव २०७३/०७४ मा ९ अर्ब २४ करोड ५० लाख ६१ हजार ८१५ रुपैयाँको बिमा भएको छ । यस आवमा पनि २०७२/०७३ को तुलनामा ३ अर्ब २० करोड ६६ लाख ४९ हजार ५ सय ९१ रुपैयाँ बढीको बिमा भएको तथ्याङ्कले देखाउँछ । आव २०७४/०७५ मा आइपुग्दा सबैभन्दा बढी बिमा भएको देखिन्छ । यस आवमा किसानले कुल १३ अर्ब २० करोड ८५ लाख ८ हजार ५९४ रुपैयाँको बिमा गरेका छन् । जुन, आव २०७३/०७४ को तुलनामा ३ अर्ब ९६ करोड ३४ लाख ४६ हजार ७७९ ले बढी हो ।
आव २०७१/०७२ मा कुल बिमाशुल्क १४ करोड २४ लाख ८० हजार १०४ र अनुदानबापत १२ करोड ५ लाख ७३ हजार ७३३, आव २०७२/०७३ मा बिमाशुल्क २७ करोड ८७ लाख ४५ हजार ८० रुपैयाँ र अनुदान २० करोड ९० लाख ५८ हजार ७३३ रुपैयाँ, आव २०७३/०७४ मा बिमाशुल्क ४२ करोड ५९ लाख २४ हजार ७०४ र अनुदान ३१ करोड ९४ लाख ४३ हजार ५२८ र आव २०७४/०७५ मा बिमाशुल्क ५७ अर्ब २८ लाख ५१ हजार ६२२ रुपैयाँ र अनुदान ४२ करोड ९६ लाख ३८ हजार ७१७ रुपैयाँ बिमा समितिले बिमाबापत उठाएको हो । सरकारले बिमा गर्ने बिमितलाई हरेक वर्ष बिमा शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । २५ प्रतिशत भने बिमित किसान आफैले तिर्नुपर्छ । कृषि, बालीनाली तथा पशुपक्षीको बीमातर्फ किसानको आकर्षण बढ्दै गएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
बिमा गर्ने व्यावसायिक किसानको आकर्षण कृषि, बालीनालीतर्फ भन्दा पशुपक्षीतर्फ बढेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता तेजबहादुर सुवेदीले बताए । ‘अहिले व्यावसायिक किसानहरु बिमाप्रति आकर्षित भएका छन्,’ उनले भने, ‘कृषि तथा बालीनालीतर्फ भन्दा पनि पशुपक्षीको बीमा गर्ने किसान बढेका छन् ।’ केही दुर्गम तथा पहाडी भेगमा भने बिमाका बारेमा जनचेतना र सचेतनात्मक कार्यक्रम पुर्याउन नसकिएको उनले बताए ।
अझै पनि केही किसान बिमाबारे सचेत हुन नसकेको बताउँछन् । कृषि बिमा वास्तविक किसान तहसम्म पुग्न नसकेको राष्ट्रिय किसान समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारीले बताए ।