मुलुकमा १० लाख टनभन्दा बढी रड उत्पादन हुन्छ । बजार विस्तारसँगै स्टिल उद्योगमा लगानी आउने क्रम पनि जारी छ । प्रविधिमा आएको परिवर्तन र बढ्दो प्रतिस्पर्धासँगै उद्योगीले लगानी थपेर उत्पादन बढाइरहेका छन् । स्टिल उद्योगले बजारमा मागेजति रड दिन सक्षम रहेको उद्योगीको दाबी छ ।
मुलुकमा पूर्वाधार निर्माणले तीव्रता पाएसँगै निर्माण सामग्रीको माग बढेको छ । राजनीतिक स्थिरतासँगै मुलुकमा सडक, सिँचाइ, विद्युत् आयोजना, विमानस्थल निर्माण अघि बढेपछि स्टिलको माग बढे पछि उद्योगीलाई पनि अवसर वृद्धि भएको छ ।
भूकम्पले भत्काएका करिब आठ लाख घरसहित सरकारी संरचना निर्माणको क्रममा रहेकाले पनि रडको खपत बढेको हो । आम्दानी वृद्धि हुनासाथ सुविधासम्पन्न घर बनाउने परम्पराले पनि बजार विस्तार भएको छ ।
पूर्ननिर्माणसँगै बढ्दो सहरीकरणले पक्की घर बनाउने क्रम बढेपछि स्टिलको माग वृद्धि भएको उद्योगी बताउँछन् । गुणस्तरीय रड बिक्री गरेकाले माग पनि बढेको लक्ष्मी स्टिलका ब्राण्ड मेनेजर गोपाल सारडाले बताए । ‘नेपाल र आइएसओ गुणस्तर चिन्ह पाएका छौं,’ सारडाले भने, ‘हाम्रो उत्पादन ग्यारेन्टी भएकाले पन प्रयोगकर्ताको आकर्षण बढेको छ ।’ लक्ष्मी स्टिलले वार्षिक एक लाख ३० हजार टन स्टिल उत्पादन गर्दै आएको छ ।
नेपालमा लक्ष्मी सहित जगदम्बा स्टिल, काठमाडौं, पञ्चकन्या, हिमाल, हामा, लक्ष्मी, गोयन्का, हुलास, वागेश्वरी स्टिललगायतका डेढ दर्जन रड उत्पादन गर्ने स्टिल उद्योग रहेका छन् । नेपालमा स्टिल उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी पुगेको नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका पूर्वअध्यक्ष धु्रवकुमार थापाले बताए । ‘न्यूनतम ५० करोडदेखि एक सय करोड रुपैयाँभन्दा बढी लगानीमा स्टिल उद्योग सञ्चालनमा छन्,’ थापाले भने, ‘पुनर्निमाणले अवसर गपिएको छ ।
मुलुकमा १० लाख टनभन्दा बढी रड उत्पादन हुन्छ । बजार विस्तारसँगै स्टिल उद्योगमा लगानी आउने क्रम पनि जारी छ । प्रविधिमा आएको परिवर्तन र बढ्दो प्रतिस्पर्धासँगै उद्योगीले नयाँ लगानी थपेर उत्पादन बढाइरहेका छन् । स्टिल उद्योगले बजारमा मागेजति रड दिन सक्षम रहेको उद्योगीको दाबी छ । बजारमा प्रतिस्पर्धा बढेकोले गुणस्तर र मूल्यमा समेत चिन्ता नगर्न उद्योगी आग्रह गर्छन् । भूकम्पपछि प्रयोगकर्ता सचेत भएर गुणस्तरमा पनि ध्यान दिएकाले उत्पादकले पनि मापदण्ड अनुसार गुणस्तरीय सामान उत्पादन गरिरहेको बताए ।
सबैतिर निर्माण बढिरहेकाले बजारको समस्या नभएको उद्योगी बताउँछन् । अहिले रडको माग उच्च भए पनि माग सजिलै धानेको दाबी गर्छन् । उपत्यकामा मात्रै एकै कम्पनीले करिब ५० हजार टनसम्म सप्लाई गर्दै आएका छन् । लोडसेडिङ हट्दा अहिले उद्योग सञ्चालनमा सजिलो भएको छ । लोडसेडिङ हटेपछि उद्योगीहरु पनि उत्साहित छन् । दैनिक १८÷२० घण्टा विजुली पाउँदा रड उत्पादनमा निकै सजिलो भएको अम्बे स्टिलका प्रबन्ध निर्देशक शंकर न्यौपानेले बताए । ‘उद्योगीको सुखद पक्ष अहिले विजुली पाएका छौं,’ न्यौपानेले भने, ‘गुणस्तरीय सामान उत्पादन भएकाले प्रयोगकर्ता पनि सन्तुष्ट छन् ।’
हरेक वस्तुको आयात विदेशबाट भए पनि रड (स्टिल) मा नेपाल आत्मनिर्भर रहेको उद्योगीको दाबी छ । ठूला आयोजना, घर, भवन, पुल लगायत संरचनाको डिजाइन राम्रो भए पनि प्रयोग गरिएका सामग्री कमसल भए जुनसुकै बेला दुर्घटना हुन सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने विज्ञको सुझाब छ । उत्पादन बढेपछि बजारमा अस्वस्थ्य प्रतिस्पर्धा पनि बढेको छ । गुणस्तरको विषयमा प्रश्न उठेपछि सरकारले यहाँ उत्पादन तथा बिक्री–वितरण हुने फलामे छडको मापदण्ड तोकेकोे छ । नेपाल गुणस्तर परिषदको सिफारिसअनुसार तय भएको मापदण्डमा फलामे छडको बलियोपन, लचकता, कच्चा पदार्थको प्रयोग लगायतमा मापदण्ड तय गरेको हो । रडको रासायनिक गुण अन्तर्गत फलामे छडमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड तय भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘डन्डीको गुणस्तर हेरेरमात्र थाहा हुँदैन,’ पुडासैनीले भने, ‘हरेक उद्योगले गुणस्तर चिह्न लिएर उत्पादन गरे पनि ग्रेड विभाजन गरेका छौं ।’ अहिले ४ सय १५, ५ सय, ५ सय ५०, ६ सय गे्रडका स्लिट रड बजारमा रहेको उनले बताए ।