सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार

आव ०७४/७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये चार करोड ४१ हजार ४४३ रकम असुली गरेको छ । सहकारीले सदस्यबाट एक करोड ८५ लाख २४ हजार ५७ कर्जा असुली गर्न बाँकी छ । 

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।

आव ०७४/७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये चार करोड ४१ हजार ४४३ रकम असुली गरेको छ । सहकारीले सदस्यबाट एक करोड ८५ लाख २४ हजार ५७ कर्जा असुली गर्न बाँकी छ ।

सहकारीले कृषि कर्जामा ८० लाख ३७ हजार ९१२, व्यापारमा ७६ लाख ३४ हजार २०५, कुखुरापालनमा १२ लाख २७ हजार, बङगुरपालनमा ४२ हजार ७८५, शैक्षिक कर्जामा सात लाख ८० हजार र आवास कर्जामा चार लाख २४ हजार १५५ रकम लगानी गरेको छ । लगानी गरिएको रकमबाट सहकारीले एक लाख ५१ हजार १५२ खुदनाफा आर्जन गरेको सहकारीका अध्यक्ष धनबहादुर चौधरीले बताए ।

सहकारीले सञ्चालनमा ल्याएका दैनिक बचत, मासिक बचत, खुत्रुके बचत, ऐच्छिक बचत र आवधिक बचतमा गरी १२ करोड ३० लाख ७० हजार २६८ रकम बचत गरेको उनले बताए । सहकारीमा विपन्न, मुक्त कमैया, आरक्ष विस्थापित समुदायका व्यक्ति आबद्ध छन् । आर्थिक, समाजिक, शैक्षिक र सांस्कृतिकरूपले पछाडि परेका वर्ग र समुदायको सहकारीको माध्यमबाट सेवासुविधा पुर्याउने उद्देश्य लिएको छ ।

सहकारीका सदस्यलाई व्यावसायिक तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन चालू आवदेखि दुई परियोजनासँग सहकार्य गरी कार्य बढाइन लागेको सहकारीका प्रबन्धक लक्ष्मी सेटीले बताइन् । “सहकारीलाई दिगोरूपमा सञ्चालन गर्न पाँच वर्षीय रणनीतिक योजना निर्माणको कार्यसमेत गरेका छौँ,” उनले भनिन्, “सेयर सदस्य वृद्धि गरी पाँच हजार पुर्याउने र सेयर पूँजीमा वृद्धि गरी ४० लाख पुर्याउने लक्ष्य लिएका छौँ ।”

सहकारीको हाल शेयर पूँजी २७ लाख ४७ हजार ९०० रूपैयाँ छ । सहकारी विसं २०६८ मा स्थापना भएको हो । रासस