चुहावट नियन्त्रण अभियान

विगत दुई वर्ष अघिसम्म १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले यो अभियान सुरु गरेको हो ।

पर्सा जिल्लामा विद्युत् चुहावट १० प्रतिशतमा झार्न प्राधिकरणले नियन्त्रण अभियान थालेको छ । विगत दुई वर्ष अघिसम्म १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले यो अभियान सुरु गरेको हो ।

प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा विद्युत् चुहावट नियन्त्रण हँुदै गएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । जम्मा ६७ हजार ग्राहक रहेका पर्सा जिल्लामा विद्युत् चुहावट गर्नेलाई पक्राउ गरी जरिवानाबापत १३ लाख रुपैयाँ राजस्व उठाइएको छ भने ग्राहकले धमाधम मिटर लिन थालेका छन् ।

सरकारी तथा अन्य कार्यालयबाट ५० करोड रुपैयाँ बक्यौता रकम उठाउन प्राधिकरणले पत्राचारसमेत गरेको छ ।