४० अर्ब रुपैयाँबराबरका ४० करोड नयाँ नोट छाप्ने राष्ट्र बैङ्कको तयारी, सेक्युरिटी कम्पनी छान्दै

नोट छाप्नका लागि केन्द्रीय बैङ्कले प्रिन्टिङ कम्पनीको पूर्वयोग्यता (पीक्यू) को काम अघि बढाएको छ । पीक्यूबाट छनौट भएका कम्पनीले मात्र नोट छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् । बोलपत्र बुझाउने अन्तिम दिन पुस १५ लाई तोकिएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । त्यसपछि कम्पनीको पीक्यू छनौट हुने छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ४० अर्ब रुपैयाँ नयाँ बैङ्क नोट छाप्ने भएको छ । केन्द्रीय बैङ्कले १०० रुपैयाँदरका ४० करोड थान नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको हो ।

नोट छाप्नका लागि केन्द्रीय बैङ्कले प्रिन्टिङ कम्पनीको पूर्वयोग्यता (पीक्यू) को काम अघि बढाएको छ । पीक्यूबाट छनौट भएका कम्पनीले मात्र नोट छाप्ने बोलपत्रमा भाग लिन पाउने छन् । बोलपत्र बुझाउने अन्तिम दिन पुस १५ लाई तोकिएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । त्यसपछि कम्पनीको पीक्यू छनौट हुने छ ।

सेक्युरिटी कम्पनीले नयाँ नोटको डिजाइन, छाप्ने तथा आपूर्तिसमेतको काम गर्नु पर्ने विभागले जानकारी दिएको छ । केन्द्रीय बैङ्कले पुराना नोटलाई क्रमशः विस्थापन गर्दे लैजान नयाँ नोट छाप्नका लागि ठेक्कापट्टाको काम सुरु गर्न लागेको हो । छनौट भएका कम्पनीले मात्र नोटको डिजाइन, छाप्ने र आपूर्तिको कामका लागि हुने ग्लोबल टेण्डरमा भाग लिन पाउने छन् ।

मुलुकमा सेक्युरेटी प्रेस नहुँदा राष्ट्र बैङ्कले विदेशबाट नोट छापेर ल्याउने गरेको छ । नोट छपाइमा मात्रै अर्बौं रुपैयाँ विदेसिने गरेको छ । केन्द्रीय बैङ्कले अधिकांश नोट सिङ्गापुर र इन्डोनेसियामा छाप्ने गरेको छ ।

सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चर जडानको तयारीमा जुटेको छ ।

केन्द्रले इलेक्ट्रिक पावर एन्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चरको आपूर्ति, जडान र सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ । सेक्युरिटी प्रेस राख्नु अघिको पूर्वतयारी सुरु भएको हो । सेक्युरिटी प्रेस ३ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी सरकारको छ ।

सेक्युरिटी प्रेसले कागजी नोट, राहदानी, चेकबुक र बायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइ गर्ने छ । हाल बैङ्क नोट, राहदानी, बैङ्कका चेकलगायत सुरक्षण सम्बन्धित सम्पूर्ण छपाइ विदेशमा हुने गरेको छ ।

सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहेपनि नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुनु परेको छ । वार्षिक ५० करोड रुपैयाँभन्दा बढी रकम बैङ्क नोट छाप्नमा विदेसिने गरेको छ ।

दुई वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले नोट, चेकबुकलगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो ।