कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट ९५ लाख २४ हजार ७७ रूपैयाँ असुल गर्न बाँकी छ । विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको हो ।
चितवन : नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक छन् ।
कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट ९५ लाख २४ हजार ७७ रूपैयाँ असुल गर्न बाँकी छ । विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको हो ।
कालो सूचीमा परेका ग्राहकको लाइन काट्ने काम भइरहेको उनले जानकारी दिए । कालो सूचीमा रहेका अन्य सात जनाले बक्यौता रकम बुझाइसकेका छन् । उनीहरुबाट एक लाख ८४ हजार ६९२ रूपैयाँ असुली गरिएको छ । सोही क्रममा ३५० भन्दा बढीको लाइन काटी बक्यौता असुली गरिएको छ ।
वितरण केन्द्रका अनुसार हाल विभिन्न ग्राहकबाट ३८ करोड २९ लाख २४ हजार ६९४ रूपैयाँ बक्यौता असुल गर्न बाँकी छ । बक्यौता रहनेमा सबैभन्दा बढी ग्रार्हस्थ्य उत्पादन (घरायसी)को सात करोड ८३ लाख ३४ हजर ८३, गैर व्यावसायिक संस्थाको दुई करोड १९ लाख २५ हजार ६३२ रूपैयाँ छ । सिँचाइको दुई करोड ३१ लाख ८९ हजार ३९९, उद्योगको ९३ लाख ३१ हजार १४२, व्यावसायिक सङ्घसंस्थाको ४७ लाख १८ हजार ९८४, घरायसीबाहेक अन्य प्रयोजनका लागि ३७ लाख १० हजार १३६ र खानेपानीकाे १० लाख ९५ हजार ११४ रूपैयाँ बक्यौता छ ।
यस्तै अस्थायी बत्तीबापत चार लाख २३ हजार ३२९ र मठ मन्दिरको दुई लाख २३ हजार ३१८ रूपैयाँ छ । राजथलाका अनुसार सबैभन्दा बढी सडक बत्तीको बक्यौता छ । सडक बत्तीबापत २३ करोड चार लाख ८३ हजार ४४९ भुक्तानी मिलान गर्न बाँकी छ । रासस