व्यापार घाटा गत वर्षको तुलनमा १२.३९ प्रतिशतले बढ्दै ३ खर्ब ९८ अर्ब ७० करोड ७० लाख रुपैयाँ पुगेको छ ।
पछिल्लो ५ महिनामा कुल वस्तु आयात भएको रकमको २५ प्रतिशत भन्सार राजस्व उठेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको वैदेशिक व्यापार तथ्याङ्कअनुसार ४ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ ।
यसै अवधिमा राज्यले भन्सारबाट भन्सार शुल्क र करवापत १ खर्ब ८ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ । यो राजस्व कुल आयातीत रकमको २५ प्रतिशत हो । यसअवधिमा भएको आयत गत वर्षको ५ महिनाको आयात ३ खर्ब ८२ अर्ब २७ करोड ५९ लाखभन्दा १३.१३ प्रतिशतले बढी हो । त्यसैगरी चालु वर्षको राजस्व गत वर्षको ५ महिना अवधिको १ खर्ब ६ अर्ब ५७ करोड ११ लाख रुपैयाँभन्दा १.६७ प्रतिशतले मात्रै बढी हो ।
तर, ५ महिनाको निर्यात भने गत वर्षको तुलनामा १०.१८ प्रतिशतले बढेको छ । निर्यातमा देखिएको वृद्धि गत वर्षको १४.०९ प्रतिशतको तुलनामा कम हो । चालु मङ्सिरसम्म ३३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ वस्तु निर्यात भएको छ । आयातमा भएको वृद्धिभन्दा निर्यातमा भएको वृद्धि दर कम भएपछि व्यापार घाटा अझ बढेर गएको छ । व्यापार घाटा गत वर्षको तुलनमा १२.३९ प्रतिशतले बढ्दै ३ खर्ब ९८ अर्ब ७० करोड ७० लाख रुपैयाँ पुगेको छ । आयातमा वृद्धि र निर्यातमा कमी देखिँदा कुल व्यापारमा निर्यातको हिस्सा ७.२ प्रतिशत र आयातको हिस्सा ९२.८ प्रतिशत पुगेको छ भने आयात–निर्यात अनुपात १२.८ गुणा पुगेको छ । गत वर्ष ५ महिनामा आयात निर्यात अनुपात १२.५ गुणा थियो ।
विभागका अनुसार ५ महिनाको अवधिमा सबैभन्दा बढी ६१ अर्ब १९ करोड ७५ लाख रुपैयाँबराबरको प्राकृतिक इन्धन र तेलजन्य पदार्थ आयात भएको छ । त्यसपछि फलाम र स्टिल ४३ अर्ब ८ करोड ५७ लाख, मेसिन र मेसिनरी सामान ४० अर्ब ९५ करोड १५ लाख, सवारीसाधन र तिनका पार्टपुर्जा ३५ अर्ब ५८ करोड र विद्युतीय उपकरण र पार्टपुर्जा २९ अर्ब ६५ करोड ७६ लाख रुपैयाँबराबरको आयात भएको छ । निर्याततर्फ भने यसअवधिमा सबैभन्दा बढी कफी र चिया ३ अर्ब ७१ करोड १३ लाख रुपैयाँको भएको छ । त्यसैगरी १ अर्बभन्दा बढीको १० वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा छ । कार्पेट र अन्य टेक्सटाईल २ अर्ब ९७ करोड, परिधान र कपडाका सामान २ अर्ब ८४ करोड, फलाम र स्टील १ अर्ब ९६ करोड, तयारी फलफूल तथा तरकारी १ अर्ब ७८ करोड रुपैयाँबराबरको निर्यात भएको छ । आयातमध्ये एक तिहाई हिस्सा वीरगञ्ज भन्सारबाट भएको छ ।
कुल आयातमध्ये वीरगञ्ज भन्सारबाट १ खर्ब ४५ अर्ब ४ करोड ७८ लाख रुपैयाँबराबरको अर्थात् ३३.५४ प्रतिशत भएको छ । त्यसपछि बढी आयात भैरहवा भन्सारबाट १८.६४ प्रतिशत भएको छ । त्यसैगरीसबैभन्दा बढी निर्यात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १० अर्ब २२ करोड ९६ लाख रुपैयाँ अर्थात् ३०.३३ प्रतिशतको भएको छ । त्यसपछि बिराटनगर भन्सार कार्यालयमार्फत २६.८२ प्रतिशत वस्तु निर्यात भएको छ ।