नेपालमै पहिलो पटक उत्पादन हुँदै लगेज फ्याब्रिक, नयाँ सेगमेन्टको कपडा उत्पादन गर्न २० करोड लगानी

नेपालमा अहिले लगेज फ्याब्रिक उत्पादन हुँदैन । नेपालमा जति पनि लगेज फ्याब्रिकका कपडा बन्छन् ती सम्पूर्ण कपडा भारत तथा चीनबाट आयात हुने गरेका छन् । भारत तथा चीनबाट कपडा ल्याएर नेपालमा सिलाएर बेच्ने गरेका छन् । तर, प्रगतिले पहिलो पटक नेपालमै त्यस्ता कपडा बनाउन लागेको लोहियाले जानकारी दिए ।

काठमाडौं । कपडा उद्योगमा प्रख्यात प्रगति टेक्सटाइले नेपालमा पहिलो पटक लगेज फ्याब्रिक उत्पादन गर्ने भएको छ । हालसम्म कपडा उत्पादन गर्दै आएको प्रगति टेक्सटाइलले निकट भविष्यमै लगेज फ्याब्रिक उत्पादन गर्ने योजना बनाएको कम्पनीका प्रवन्ध निर्देशक जितेन्द्रकुमार लोहियाले जानकारी दिए ।

‘चालू आर्थिक वर्षको बजेट लगत्तै लगानी थपेर लगेज फ्याब्रिक उत्पादन गर्ने योजना बनाएका थियौ,’ उनले भने, ‘तर, बजेटबाट सरकारले नीति परिर्वतन गरेकाले अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन्, अब केही महिनामा सञ्चालन हुन्छ ।’  सरकारले नीतिमा परिवर्तन नगरेको भए, असारमै उद्योग सञ्चालन भइसक्थ्यो । तर, नीतिगत परिवर्तन हुँदा परियोजना सञ्चालनमा पछाडि सरेको उनको भनाइ छ ।

नेपालमा अहिले लगेज फ्याब्रिक उत्पादन हुँदैन । नेपालमा जति पनि लगेज फ्याब्रिकका कपडा बन्छन् ती सम्पूर्ण कपडा भारत तथा चीनबाट आयात हुने गरेका छन् । भारत तथा चीनबाट कपडा ल्याएर नेपालमा सिलाएर बेच्ने गरेका छन् । तर, प्रगतिले पहिलो पटक नेपालमै त्यस्ता कपडा बनाउन लागेको लोहियाले जानकारी दिए ।

नेपालमा ५० लाख मिटर त्यस्ता कपडाको माग छ । स्कुल तथा कलेजका विद्यार्थीले बोक्ने ब्यागको कपडा सबै विदेशबाट आउँछ । त्यसैगरी, लगेजमा प्रयोग हुने कपडा पनि विदेशबाट आउने गरेको छ । सोही आयातलाई प्रतिस्थापन गर्न नेपालमै उत्पादन गर्ने तयारी गरेको उनको भनाइ छ ।

उनका अनुसार नयाँ सेगमेन्टको कपडा उत्पादन गर्न २० करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको छ । लगेजमा प्रयोग हुने कपडा उत्पादनका लागि मेसिन पनि आयात भइसकेको छ । त्यसैगरी, अहिले मेसिनको जडान भइरहेको उनले जानकारी दिए । नेपालमा लगेज तथा स्कुल/कलेजका विद्यार्थीले प्रयोग गर्ने ब्यागको कपडा आयात गर्दा ठूलो रकम बाहिरिएको भन्दै लोहियाले नेपालमै उक्त कपडा उत्पादन गर्न लागेको बताए । सरकारले नीतिगत स्थायित्व लिएको भए ४ महिनाअघि नै उद्योग सञ्चालनमा आइसक्ने उनको भनाइ छ ।

अहिले विदेशबाट त्यस्ता कपडा आयात गरेर नेपालमै सिलाएर बजारमा पठाउँदा अत्यन्तै कम मात्रामा मात्रै मूल्य अभिवृद्धि भएको छ । तर, नेपालमै कपडा बन्यो भने मूल्य अभिवृद्ध एकदमै धेरै हुने उनको भनाइ छ ।  एकातिर उद्योगले त्यस्ता कपडा उत्पादन गरेर सिलाइ मेसिन राखेका व्यापारीलाई पनि कपडा दिन्छ भने, अर्कोतिर उद्योग आफैले उत्पादन गरेर तयारी बस्तु पनि बजारमा पठाउने तयारी थालेको उनको भनाइ छ ।