सरकारले स्वदेशी उद्योगलाई कर तथा भन्सार छुट दिने

सरकारले उपलब्ध गराएको सहुलियतबाट जनता लाभान्वित हुनुपर्ने बताउँदै उनले उद्योगीलाई करीब ९३ करोड मूल्य अभिवृद्धि कर निकासा दिइएको जानकारी गराए।

काठमाडौ । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्ने उद्योगलाई संरक्षण दिने भएको छ । उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता कल्याण समितिले चिनी, चिया र कफीको उत्पादनकाबारे बुधबार आयोजना गरेको छलफलमा अर्थमन्त्री डा युवराज खतिवडाले देशमा रोजगारीका साथै स्वदेशी उत्पादन वृद्धि गर्ने उद्योगलाई आवश्यक अनुदान तथा भन्सार सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले उपलब्ध गराएको सहुलियतबाट जनता लाभान्वित हुनुपर्ने बताउँदै उनले उद्योगीलाई करीब ९३ करोड मूल्य अभिवृद्धि कर निकासा दिइएको जानकारी गराए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकको विकास र समृद्धिका लागि औद्योगिक प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै त्यस्ता प्रतिष्ठानले आयात प्रतिस्थापनमा सहयोग गर्ने, रोजगारी वृद्धि गर्ने हुँदा सरकारले संरक्षण गर्ने बताए। उनले उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका विषयमा उद्योगी संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भने, “कुन कुन उद्योगलाई के कस्तो सहुलियत उपलब्ध गराएमा के कति सङ्ख्यामा रोजगारीको सम्भावना वृद्धि हुन्छ, त्यसबारे अध्ययन भइरहेको प्रतिवेदनका आधारमा सुविधा दिइने छ ।”

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ३ अर्ब रुपैयाँ बराबरको चिनी मौज्दात रहेको जानकारी दिँदै सामूहिक खेतीका माध्यमबाट चिया र कफीको उत्पादन वृद्धि गर्न सकिने बताए कार्यक्रममा सांसद, उद्योगीलगायतले वस्तुको उत्पादन लागतमा कमी ल्याउन कर प्रणाली व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका थिए । रासस