अख्तियारद्वारा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्ध मुद्दा दायर, पोलिमर नोट छपाइमा ९१ लाख भ्रष्टाचार भएको ठहर

राष्ट्र बैङ्कबाट १० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन, गुणस्तरहीन नोट छपाइ र गैरकानुनी मिलेमतोगरी भ्रष्टाचार गरेको भन्दै तीनै जनालाई जनही ९१ लाख ९ हजार आठ सय ८९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो ।

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको भन्दै नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

राष्ट्र बैङ्कबाट १०रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन, गुणस्तरहीन नोट छपाइ र गैरकानुनी मिलेमतोगरी भ्रष्टाचार गरेको भन्दै तीनै जनालाई जनही ९१ लाख ९ हजार आठ सय ८९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो ।

अख्तियारले तत्कालीन गभर्नर रावलसहित नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाण्डे विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले बोलपत्रपूर्व नै केन्द्रीय बैङ्कले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता कार्य गरी भ्रष्टाचार भएको ठहर गरेको छ ।

अख्तियारले अनुसन्धानका क्रममा राष्ट्र बैङ्क र नोट प्रिन्टिङ अष्ट्रेलियाका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको र नेपाली मिडियाकर्मीलाई अष्ट्रेलिया पुर्याउने गरेको उल्लेख छ । रावल गभर्नरबाट हटेपछि संविधानसभा सदस्यसमेत भएका थिए ।