६० प्रतिशत किसानको दूध प्लाष्टिकरहित भाँडोमा

सङ्कलन केन्द्रमा पुर्याइने दूध प्लाष्टिकका क्यान, ट्याङ्कीका कारण फोहोर पस्ने, दुर्गन्ध आउने, लेउ लाग्ने र रासायनिक सङ्कमण फैलिने खतरा बढेपछि अभियानकै रुपमा प्लाष्टिकरहित सामानको प्रयोगतर्फ दुग्ध किसान लागेका हुन् ।

काठमाडौं । ललितपुरका ५४ ओटा दुग्ध सहकारीमा आबद्ध दूध उत्पादक किसानमध्ये ६० प्रतिशतले प्लाष्टिकरहित भाँडोको प्रयोग गरी दूध सङ्कलन गर्न थालेका छन् । सङ्कलन केन्द्रमा पुर्याइने दूध प्लाष्टिकका क्यान, ट्याङ्कीका कारण फोहोर पस्ने, दुर्गन्ध आउने, लेउ लाग्ने र रासायनिक सङ्कमण फैलिने खतरा बढेपछि अभियानकै रुपमा प्लाष्टिकरहित सामानको प्रयोगतर्फ दुग्ध किसान लागेका हुन् ।

अहिले झन्डै ५ हजार १ सय किसानमध्ये ६० प्रतिशतले स्टील र आल्मुनियमको भाँडोमा दूध राखेर सङ्कलन केन्द्र पुर्याउने गरेको ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका व्यवस्थापक उद्धवप्रसाद घिमिरेले बताए ।

किसानले दूध दुहेपछि सङ्कलन केन्द्रसम्म पुर्याउनसमेत स्टील र आल्मुनियमको भाँडाको प्रयोग गरेको घिमिरेले बताए । उनले विगतदेखि प्लाष्टिकरहित दूध सङ्कलन गर्नुपर्छ भनेर अभियान थालेपछि किसानमा जागरण आएको बताए । ‘प्रविधिको प्रयोगअनुसार आम दूध उत्पादक किसानमा जागरण आएको छ,’ उनले भने, ‘लामो समयदेखि प्लाष्टिकरहित भाँडामा दूध सङ्कलन गर्ने अभियानका कारण ६० प्रतिशत किसानले प्लाष्टिकरहित भाँडोको प्रयोग गरेका छन् ।’

उनका अनुसार, ६० प्रतिशतले स्टील तथा आल्मुनियमको भाँडोमा दूध सङ्कलन भइरहेको छ । प्लाष्टिकका क्यान र हिल ट्याङ्कको प्रयोगले ढुवानीका हिसाबले सहज भएपनि दूधको गुणस्तरमा असर गर्छ । तातो दूध कुनै पनि प्लाष्टिकको क्यान वा कुनै भाँडोमा राख्दा प्लाष्टिकको रसायनले क्यान्सरको सङ्कमण लाग्ने सर्भेले देखाएको घिमिरेले बताए ।

दूध किसानमा अझै पनि प्लाष्टिकको भाँडोमा दूध सङ्कलन गर्दा हुने असरबारे जनचेतनाको कमी रहेको उनले बताए । ‘कुनै पनि प्लाष्टिकको भाँडो क्यान, हिल ट्याङ्क अन्य वस्तुको ‘रि-साइकिलिङ’बाट बनेको हुन्छ,’ घिमिरेले भने, ‘त्यस्ता वस्तुमा दूध सङ्कलन गर्दा रसायन र अन्य कारणले क्यान्सर हुन्छ भन्ने आम किसानले बुझ्न जरुरी छ ।’

प्लाष्टिकको तुलनामा स्टील तथा आल्मुनियम सफा गर्न सजिलो र ढुवानीमा सुरक्षित हुन्छ । स्टीलको भाँडोको प्रयोग दूधको गुणस्तरमा असर नगर्ने भएकाले दूध सङ्कलन प्लाष्टिकरहित भाँडोमै गर्न घिमिरेको आग्रह छ ।