सीएमसीले स्ट्याण्डर्ड चार्टर्ड बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्कमा राखेको ३ अर्ब रुपैयाँ धरौटी जफत गरी आफ्नै ढङ्गले मेलम्ची अघि बढाउने निर्णय गरेपछि ठेकेदार काममा फर्कन बाध्य भएको हो ।
काठमाडौं । टाट पल्टिएर नेपालबाट भाग्न खोजेको मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिस्टी (सीएमसी) काममा फर्कन सहमत भएको छ । सरकारले झन्डै ३ अर्ब रुपैयाँ धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएपछि यसलाई बचाउन उसले ठेक्का फिर्ता लिएको हो । मेलम्चीको काम सुचारु हुने भएको छ ।
सीएमसीले स्ट्याण्डर्ड चार्टर्ड बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्कमा राखेको ३ अर्ब रुपैयाँ धरौटी जफत गरी आफ्नै ढङ्गले मेलम्ची अघि बढाउने निर्णय गरेपछि ठेकेदार काममा फर्कन बाध्य भएको हो ।
भूकम्प तथा नाकाबन्दीका कारण मेलम्चीमा काम नहुँदा झन्डै १ अर्ब रुपैयाँ नोक्सानी भएको र त्यसबापतको क्षतिपूर्ति नदिएसम्म आयोजनाको बाँकी काम पूरा गर्न नसकिने भन्दै कम्पनीले ठेक्का तोड्ने चेतावनी दिएको थियो । तर, सरकारले भने क्षतिपूर्तिबापत ३५ करोड रुपैयाँ दिने निर्णय गरेको थियो । आयोजनाका बाँकी काम सकिएपछि मात्रै उक्त क्षतिपूर्ति दिने आयोजना र मन्त्रालयका कारण सीएमसीले पटक पटक आयोजनाको काम अवरुद्ध गर्दै आएको थियो ।
सीएमसीले बाध्य भएर धरौटी बचाउन पुनः ठेक्कामा फर्कने निर्णय गरेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले बताए । नियमअनुसार आयोजना पूरा गरेपछि मात्रै क्षतिपूर्ति दिने सहमति भएपनि सीएमसीले भने आफूखुसी ठेक्का रद्द गरेको ठाकुरले बताए ।
सचिव ठाकुरले सीएमसीले ठेक्का फिर्ता लिए पनि कानुनी लडाँइ अन्त्य नभएको बताए । उनले सीएमसीले २ अर्ब ५६ करोड धरौटी फिर्ता पाउन अदालतमा मुद्दा हालेको उनले बताए । ‘सीएमसीले विभिन्न बैङ्कमा राखेको ३ अर्ब धरौटी बचाउन बाध्य भएर ठेक्का पुनः फिर्ता लिएको छ,’ उनले भने, ‘२ अर्ब ५६ करोड धरौटीका लागि अदालतमा हामीविरुद्ध मुद्दा हालेको छ । हामी कानुनी लडाँइ लड्छौं ।’
यसअघि एउटा परामर्शदाता कम्पनीलाई मेलम्ची आयोजनाको सुरुङ्गको प्राविधिक विश्लेषणसहितको प्रतिवेदन एक हप्ताभित्र तयार पार्न निर्देशन पनि दिइएको छ ।