८९ लाख दुरुपयोग गरेको आरोपमा सञ्जयकुमार श्रेष्ठ पक्राउ

श्रेष्ठले राष्ट्रिय बाणिज्य बैङ्कको मुख्य शाखा कार्यालय, विशालबजार काठमाडौंमा अमेरिकी डलरमा खाता खोली ई–बैङ्किङ, मोबाइल बैङ्किङ र ई–सेवा वालेट जस्ता विद्युतीय उपकरणको प्रयोग गरी आफ्नो खातामा अनधिकृत रुपमा अमेरिकी डलर जम्मा गरी भुक्तानी लिनका लागि एटीएम तथा पोस मेशिनहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

काठमाडौं : प्रविधिको अनधिकृत प्रयोग गरी करिब ८९ लाख रुपैयाँ (७८ हजार ३८० डलर ) दुरुपयोग गरेको आरोपमा पेप्सीकोलाका सञ्जयकुमार श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कोर बैङ्किङ सिस्टम दुरुपयोग गरेको आरोपमा उनलाई कार्वाही गरिने जनाएको छ ।

श्रेष्ठले राष्ट्रिय बाणिज्य बैङ्कको मुख्य शाखा कार्यालय, विशालबजार काठमाडौंमा अमेरिकी डलरमा खाता खोली ई–बैङ्किङ, मोबाइल बैङ्किङ र ई–सेवा वालेट जस्ता विद्युतीय उपकरणको प्रयोग गरी आफ्नो खातामा अनधिकृत रुपमा अमेरिकी डलर जम्मा गरी भुक्तानी लिनका लागि एटीएम तथा पोस मेशिनहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

उनले विशालबजार शाखाबाट पटक पटक जापान जाने आउने गर्ने कारण देखाई सन् २०१५ मा अमेरिकी खाता खोलेका थिए । उनले पछिल्ला विभिन्न मितिमा अमेरिकी भिषा कार्डको प्रयोग गरी भुक्तानीका लागि कारोबार गर्ने गरेको विवरण सहितको भिसा स्टलमेन्ट रिपोर्ट हेर्दा ई–बैङ्किङ, मोबाइल बैङ्किङ र ई–सेवा वालेट जस्ता विद्युतीय उपकरणहरुको प्रयोग गरी आफ्नो अमेरिकी खातामा अनधिकृत रुपमा रकम जम्मा गरी एटीएम तथा पोस मेशिनहरु मार्फत भुक्तानी लिने गरेको देखिएको जनाएको छ ।

श्रेष्ठले राष्ट्रिय बाणिज्य बैङ्कमा खोलेको अमेरिकी खातामा मोबाइल बैङ्किङ, ई–सेवा वालेटमार्फत नेपाली रुपैयाँ १(एक) ट्रान्सफर गर्दा यूएस डलर १(एक) नै जम्मा हुन जाने राष्ट्रिय बैङ्कको सीबीएस सिस्टमको कमजोरीको पहिचान गरी सो अमेरिकी डलर जम्मा गरेका थिए । जम्मा भएको रकम श्रेष्ठ आफैले तथा अन्य व्यक्तिहरु समेतको सहयोगमा लगभग १ वर्षको अवधिमा विभिन्न मितिमा ४३ पटक नेपाली रुपैयाँ बैङ्कमार्फत् अमेरिकी खातामा ट्रान्सफर गरी एटीएम तथा पोस मेशिनमार्फत् देश विदेशबाट भुक्तानी लिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।