नेपाल र भारतबीच ऊर्जा बैङ्किङ सम्झौता हुने, समझदारी जुटाउन नेपाली प्रतिनिधि भारत जाँदै

ऊर्जा बैङ्किङ सम्झौताको तयारीका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा नेपाली टोली मङ्गलबार भारत जाँदैछ । काठमाडौंमा आयोजना हुने ऊर्जासम्बन्धी संयुक्त सचिवस्तरीय बैठकमा सम्झौता हुने कार्यक्रम तय गरिएको छ ।

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा बैङ्किङ सम्झौता हुने भएको छ । नेपालमा वर्षायाममा बढी भएको बिजुली भारतले किन्ने र सुख्खायाममा नेपालले आयात गर्नेगरी ऊर्जा बैङ्किङ सम्झौता हुन लागेको हो ।

ऊर्जा बैङ्किङ सम्झौताको तयारीका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा नेपाली टोली मङ्गलबार भारत जाँदैछ । काठमाडौंमा आयोजना हुने ऊर्जासम्बन्धी संयुक्त सचिवस्तरीय बैठकमा सम्झौता हुने कार्यक्रम तय गरिएको छ ।

यसअघि भारतसँग भएको इनर्जी बैङ्किङसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन भारतीय ऊर्जा सचिवस्तरीय बैठकमा जान लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले आगामी २२ डिसेम्बरमा नेपाल—भारत सचिवस्तरीय ऊर्जासम्बन्धी सयुक्त वार्ताको तयारीका लागि जान लागिएको बताए ।

‘नेपाल—भारतको ऊर्जासम्बन्धी सचिवस्तरीय बैठक हुँदैछ,’ घिसिङले भने, ‘भारतसँग थप समझदारी, तयारी र छलफल गर्न जान लागेका हौं ।’
बर्खायामको समयमा नेपालमा सरप्लस हुने विद्युत् भारत निर्यात गर्ने र हिउँदको समयमा नदी प्रवाहमा आधारित रन अफ दि रिभर प्रकृतिका नदीनालाको बहाव घट्ने हुँदा विद्युत् उत्पादन घट्ने र विद्युत् माग बढ्ने हुनाले त्यसबेला भारतबाट आयात गर्नुपर्ने हुन्छ । बर्खायाममा भने नदीको बहाव उच्च हुने र विद्युत् खपत कम हुने हुँदा त्यसबेला बचत भएको विद्युत् भारत निर्यात गरी त्यही विद्युत् हिउँदमा ल्याउने प्रणाली नै इनर्जी बैङ्किङ हो ।

नेपालमा विद्युत्को सबैभन्दा ठूलो बजार भारत नै भएकाले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा इनर्जी बैङ्किङ सिस्टम लागू भएको हो । सरकारले अघि बढाएको दश वर्षमा आन्तरिक खपतसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । त्यो लक्ष्य हासिल गर्न र भारतसँग स्वतन्त्र पावर ट्रेडका लागि इनर्जी बैङ्किङ सिस्टम छिटै अघि बढ्ने घिसिङको तर्क छ ।