no-image

चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट चार लाख ६० हजार रूपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष देउमाया थापाले जानकारी दिइन् ।

दमौली : तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ ।

चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट चार लाख ६० हजार रूपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष देउमाया थापाले जानकारी दिइन् । भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित कार्यक्रमका लागि सहज भएको छ । उनले भनिन्, “आमा समूहको बैठक अरुको घरमा बस्नुपर्ने बाध्यता थियो ।”

आमा समूहले गाउँमा हुने विवाह, ब्रतबन्ध, पूजापाठ लगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएको छ । मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले महिला सशक्तीकरण, सीपमूलक तालीम र घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । उक्त सामुदायिक भवनको मङ्गलबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गरे ।

विद्यार्थीलाई न्यानो कपडा 

व्यास नगरपालिका–३ देउरालीनगरका बासिन्दा बाबुराम पुरीले बन्दीपुर गाउँपालिका–१ नाहाला र देवघाट गाउँपालिका–४ स्थित सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् ।

जागौँ युवा नेपालको समन्वयमा पुरीले बन्दीपुर–१ स्थित जनता प्राविका ४७ तथा देवघाट गाउँपालिका–४ स्थित चम्कादेवी आधारभूत विद्यालयका २१ विद्यार्थीलाई स्वीटर र कापी कलम वितरण गरिएको हो । उक्त सामग्री बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् । रासस