चैत १५ र १६ मा लगानी सम्मेलनको आयोजना हुँदै, २७५ अर्ब लगानी ल्याउन समझादारीपत्रमा हस्ताक्षर

२ वर्षअघि राजधानीमा भएको सम्मेलनमा भएका प्रतिबद्धताको समीक्षा र लगानीकर्ताको धारणा बुझिने उनले जानकारी दिए । २ वर्षअघि भएको सम्मेलमा गरिएकामध्ये २५ प्रतिशत लगानी आउने अवस्थामा पुगेको अर्थमन्त्री खतिवडाले बताए । उनका अनुसार हालसम्म विभिन्न परियोजनामा २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको लगानी आउने क्रममा छन् ।

काठमाडौं । नेपालमा विदेशी लगानी ल्याउनका लागि सरकारले दोस्रो पटक लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । आउँदो चैत १५ र १६ गते दुई दिन सरकारले काठमाडौंमा लगानी सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, औद्योगिक र सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउने योजना रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

२ वर्षअघि राजधानीमा भएको सम्मेलनमा भएका प्रतिबद्धताको समीक्षा र लगानीकर्ताको धारणा बुझिने उनले जानकारी दिए । २ वर्षअघि भएको सम्मेलमा गरिएकामध्ये २५ प्रतिशत लगानी आउने अवस्थामा पुगेको अर्थमन्त्री खतिवडाले बताए । उनका अनुसार हालसम्म विभिन्न परियोजनामा २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको लगानी आउने क्रममा छन् ।

समझदारीमा हस्ताक्षर भएकामा अधिकांश जलविद्युत् आयोजना छन् । यस्तै विभिन्न २३ कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा चासो देखाएका र उनीहरुले आयोजना प्रस्ताव पनि पेश गरिसकेका छन् । त्यसबेला १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

लगानीमैत्री वातावरणको अवस्था सिर्जना गर्न सरकारले विभिन्न आर्थिक ऐनलाई संशोधन गर्नका लागि सङ्घीय संसदको चालू अधिवेशनमा अधिकांश ऐन पेस गर्ने सरकारको लक्ष्य छ । ‘आउँदो मार्चसम्म लगानीमैत्री वातावरणका लागि आवश्यक कानुनी पूर्वाधार तयार भइसक्ने छन्,’ खतिवडाले भने ।

हालसम्म श्रम ऐनको संशोधन, योगदानमा आधारित पेन्सन योजना कार्यान्वयनमा आइसकेको उनले बताए । हेजिङ फन्डको व्यवस्था गर्नका लागि आवश्यक नियमावली तयारी गर्न मन्त्रिपरिषदमा पुगेको उनले जानकारी दिए ।

ठूला लगानीकर्तालाई सम्मेलनमा बोलाउन परराष्ट्र मन्त्रालयमार्फत् पहल अघि बढिसकेको उनले बताए ।

आउँदो सम्मेलनमा प्रस्तुत गर्नका लागि विभिन्न क्षेत्रका ३० ओटा परियोजनाको अध्ययन भइरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । उनले आयोजनाको सम्भाव्यता अध्ययनका लागि डेस्क स्टडिज र तथ्याङ्क सङ्कलनको काम भइरहेको जानकरी दिए ।