जग्गा भाडामा लिएर उखु खेती शुरु गरेका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गरेका हुन् । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भने, “ऋण गरेरै भए पनि मेशिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।”
बनियानी : झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गरेका छन् ।
जग्गा भाडामा लिएर उखु खेती शुरु गरेका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गरेका हुन् । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भने, “ऋण गरेरै भए पनि मेशिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।”
भारतबाट कालीगढ ल्याएर सख्खर बनाउने उद्योग स्थापना गरेको उनले बताए । अर्काको मेशिन प्रयोग गरेर सख्खर उत्पादन शुरु गरेका राजवंशीले अहिले आफैले खरीद गरेका छन् । “अर्काको भाडामा लिएँ, खर्चले धान्न नसकेपछि ऋण गरेरै भए पनि आफैँ मेशिन खरीद गरेर उद्योग चलाउँदै छु”, उनले भने, “उखु पेल्ने मेशिनबाट दैनिक २६५ लिटर खुदाे निकाल्न सकिन्छ ।”
हाल उनले दैनिक सय केजी सख्खर उत्पादन गर्दै आएका छन् । कृषकसँगै उद्यमी बन्दै गरेका राजवंशीले दैनिक ज्यालादारीमा पाँच जनालाई रोजगारीसमेत दिएका छन् । उनी भन्छन्, “उद्योगलाई राम्रोसँग चलाउन सके झापामा उखु बिक्री नहुने समस्या आउन दिन्नँ ।” प्रतिकेजी एक सय रूपैयाँमा सख्खर बिक्री गर्दै आएको बताउँदै उनले भने, “भारतबाट आयात हुने सख्खरका कारण हामी मारमा परेका छौँ ।”
राजवंशीलाई सहयोग गर्दै आएकी उनकी श्रीमती उर्मिला राजवंशीले उखुबाट सख्खर बनाउन थालेसँगै केही आशा पलाएको बताइन् । “जग्गा भाडामा लिएर खेती शुरु गर्यौँ”, उनले भनिन्, “उखु बारीमै सुकेर गयो, १० लाख ऋणमा पर्यौँ ।” तर आफूहरुले हिम्मत नहारेको बताउँदै उनले थप ऋण गरेर खेतीसँगै सख्खर बनाउन थालेको बताइन् ।
अर्जुनधारा नगरपालिकाका कृषि शाखा अधिकृत शालीकराम भट्टराईले अर्जुनधारा–५ व्यावसायिक उखु उत्पादन हुने पूर्वाञ्चलमै पहिलो र राम्रो ठाउँ भएको बताए । उनले यहाँका करीब १३५ कृषकले ७२ हेक्टरमा उखु खेती गरिरहेको बताए । अर्जुनधारामा दुई कट्ठादेखि पाँच बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन् ।
“अर्जुनधाराको ५ नं वडासँगै ६, ८ र ९ वडामा पनि कृषकले आंशिक रुपमा उखु खेती गरिरहेका छन्”, उनले भने, “गत वर्ष धान दिवसका अवसरमा एक कृषकलाई पाँच हजार रूपैयाँसहित पुरस्कृत पनि गरेका थियौँ ।” अर्जुनधारासँगै झापाको दमक, मेचीनगर, कमल गाउँपालिकामासमेत उखु खेती हुँदै आएको छ । जिल्लाभर ११५ हेक्टरमा उखु खेती गरिँदै आएको अधिकृत भट्टराईले बताए । रासस