नेपालमा सञ्चालित उद्योगमा ३५ हजार ३०० करोड लगानी रहेको भन्दै महासङ्घका कार्यकारी निर्देशक भट्टराईले घरेलु उद्योगको विकासमा सरकारको कम ध्यान पुगेको बताए ।
काठमाडौ । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा रहेका बताए ।
कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण नभए पनि अनुमानित दुई लाख उद्योग सञ्चालनमा रहेका महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले जानकारी दिए। नेपालमा सञ्चालित उद्योगमा ३५ हजार ३०० करोड लगानी रहेको भन्दै महासङ्घका कार्यकारी निर्देशक भट्टराईले घरेलु उद्योगको विकासमा सरकारको कम ध्यान पुगेको बताए । औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार ५ लाख रुपैयाँ पूँजी र नौ जना कामदार भएका तथा २० किलोवाट भन्दा कम विद्युत् खपत गर्ने उद्योग यसमा पर्छन ।
घरेलु उद्योगमध्ये सेवामूलक उद्योगमा ४५ प्रतिशत रहेका कार्यकारी निर्देशक भट्टराईले बताए। ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी छ । सबैभन्दा बढी प्रदेश नं ३ मा ३७ प्रतिशत उद्योग सञ्चालनमा छन् । प्रदेश नं ५ मा १७, प्रदेश १ मा १४, प्रदेश ४ मा ९ सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चलालनमा छन् ।
अमेरिकाले नेपालका ७७ वस्तुमा सन् २०२५ सम्म भन्सार नै नलिने घोषणा गरेको जानकारी दिँदै उनले अहिले पश्मिनालगायत न्यून मात्रै वस्तु निर्यात भइरहेको जानकारी दिए। महासङ्घले साना तथा घरेलु उद्योगको लगानीको वातावरण प्रभावकारी हुन नसकेको बताएको छ । कर्जा लिनदेखि विभिन्न काममा साना उद्योगीलाई समस्या परिरहेको महाङ्घको भनाइ छ ।
“साना तथा घरेलु उद्योगीलाई वित्तीय पहुँच नहुनु ठूलो समस्या छ”, प्रजापतिले भने, “ऋण पाउन र व्यापार प्रवद्र्धनमा समेत हामी सक्दैनौ, समस्यामा पर्छौं ।” उद्योगमा सीप र दक्ष कामदारको सधै अभाव रहने गरेको महासंघको भनाई छ । रासस