उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी सहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धरासयी बन्दै गएको बताए ।
तीव्र सहरीकरणले भक्तपुरका उद्योगधन्दा धरासयी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी सहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धरासयी बन्दै गएको बताए । उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य सङ्घले सकारात्मक भूमिका खेल्दै आए तापनि सरकार र स्थानीय सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा र सामान्य पूर्वाधार तयार गर्न नसक्दा भक्तपुरका उद्योग फष्टाउन नसकेको विचार व्यक्त गरे ।
कार्यक्रममा सङ्घका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागि सरकार उदासीन रहेको आरोप लगाउँदै यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा सङ्घ सक्रिय भइरहेको जानकारी दिए । उनले औद्योगिक विकासका लागि थप औद्योगिक क्षेत्र स्थापना गरिनुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागि सक्दो पहल गरेमा भक्तपुरमा विभिन्न विधाका उद्योगको विकास गर्न सकिने बताए । उनले भक्तपुरमा साना तथा घरेलु उद्योगका साथै अन्य सम्भावित उत्पादनको पहिचान गरी उद्योग विकास गर्न सकिने बताए ।