अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिब २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू छन् ।
दमक : प्रदेश १ मा करिब २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिब २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू छन् । लियर्सको सङ्ख्या आठ लाख र ब्रोइलर्स करिब १२ लाख भएको सङ्घको अनुमान छ ।
तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पोल्ट्री फार्म अधिक रहेको र ती फार्ममा करिब २५ सय किसानहरू व्यावसायिकरूपमा आबद्ध रहेको सङ्घका प्रदेश संयोजक माधव पराजुलीले जानकारी दिए । ती फर्ममा किसानबाहेक करिब एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी समेत पाएको उनले बताए । फार्ममा करिब दुई अर्ब रूपैयाँको लगानी रहेको अनुमान छ । उनले भने, “पोल्ट्री व्यवसायमा बजारीकरण बढेसँगै लगानीसमेत बढ्दै गएको छ ।”
पोल्ट्रीबाट दैनिक उत्पादित उपभोग्य बस्तु स्थानीयदेखि काठमाडौँसम्म निर्यात हुँदैआएको छ । सबै यहाँका बजारमा खपत नहुने भएकाले काठमाडौँका ठूला पोल्ट्री फार्मसम्म बजारीकरण गर्नुपरेको दमकका व्यवसायी समेत रहेका सङ्घका प्रदेश संयोजक पराजुलीले बताए ।
पछिल्लो समय पोल्ट्री व्यवसायलाई राज्यले समेत प्रवर्द्धन गर्दैआएपछि यस्ता व्यवसाय फस्टाउँदै गएको स्वयं व्यवसायीहरूको धारणा छ । झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले अण्डा तथा कुखुरा उत्पादनले झापा आत्मनिर्भर बन्दै गएकोे बताए । कुखुराको मासुमा आत्मनिर्भर भएपनि अस्वस्थ प्रतिस्पर्धाले सिङ्गो व्यवसायमा उत्तिकै चुनौती भएको उनको भनाइ छ ।
दमकलाई पोल्ट्री उद्योगको सम्भावना भएको नगरीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ पोल्ट्री उद्योगीहरूले चासो देखाएका हुन् । दमकलाई पोल्ट्री उद्योग नगरीका रूपमा विस्तार गर्न यहाँका व्यवसायीहरू जुटेको पराजुलीले बताए । उनले पोल्ट्री उद्योगको दोस्रो राजधानी बनाउन पूर्वाधार निर्माणको काम धमाधम भइरहेको जानकारी दिए ।
दमकमा १० ठूला पोल्ट्री उद्योग छन् भने साना किसिमका दुई दर्जन उद्योग सञ्चालनमा छन् । ठूला उद्योगमा करिब १० हजार कुखुरा छन् । त्यस्तै, दमकमा पोल्ट्री उद्योगसँगै एक सुविधासम्पन्न प्रशोधन भण्डारण केन्द्र, १० वटा दाना उद्योग, छ वटा ह्याचरी उद्योग सञ्चालित छन् । प्रशोधन भण्डारण स्थापना भएपछि झापा, मोरङ र सुनसरीका पोल्ट्री व्यवसायीहरूले सुविधा पाएका छन् ।
वर्षदिन अघि सञ्चालनमा आएको उक्त भण्डारण केन्द्र करिब पाँच करोड रूपैयाँको लगानीमा स्थापना भएको हो । भण्डारण कक्षको क्षमता १६ टन छ । भण्डारण कक्षमा आवश्यक मापदण्ड पूरा गरेर मासु चिस्यान गरिआएको सञ्चालक पराजुली बताउँछन् । प्रशोधनसहितको भण्डारण केन्द्रले यहाँका कुखुरापालकका उपभोग्य मासु समेत खरिद गर्ने र चिस्यान गरिएका कुखुरा काठमाडौँसम्म निर्यात गर्दैआएको छ । –यज्ञराज आङ्देम्बे/ रासस