निर्माण अवधिमै सञ्चय कोषले माथिल्लो तामाकोसीबाट लियाे २० अर्ब ब्याज

गत आर्थिक वर्षसम्म १४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ रहेकोमा यो वर्ष ५ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ थप भई १९ अर्ब ८४ करोड रुपैयाँ पुग्ने भएको छ । गत आर्थिक वर्षसम्मको ब्याज आयोजनाको लगानीमा पुँजीकरण भइसकेको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

काठमाडौं : निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले निर्माण अवधिको ब्याज मात्रै २० अर्ब रुपैयाँ लिने भएको छ । गत आर्थिक वर्षसम्म १४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ रहेकोमा यो वर्ष ५ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ थप भई १९ अर्ब ८४ करोड रुपैयाँ पुग्ने भएको छ । गत आर्थिक वर्षसम्मको ब्याज आयोजनाको लगानीमा पुँजीकरण भइसकेको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

कोषले माथिल्लो तामाकोसीसँग हाल ११ प्रतिशत ब्याज लिँदै आएको छ । ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याइएको थियो । अहिले ब्याजदर घटाउनका लागि कोषसँग छलफल भइरहेको अपर तामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले जानकारी दिए । निर्माण अवधिको ब्याज पुँजीकृत गरी आयोजनाको कुल लागतमा जोडिने गरेको छ ।

भूकम्पका कारण आयोजनाको निर्माण अवधि ३ वर्ष लम्बिएको र सञ्चय कोषले त्रैमासिक रुपमा चक्रवर्ती ब्याज गणना गर्दा लागत बढेको श्रेष्ठको भनाइ छ । स्वीकृत गरिएको लागतमा व्यापारिक बिजुली उत्पादनका लागि प्रक्षेपित निर्माण अवधि ६ वर्षका लागि ११ प्रतिशत आधारमा १३ अर्ब २२ करोड रुपैयाँ अनुमान गरिएको थियो । आयोजनाको समय लम्बिँदा अनुमानभन्दा ७ अर्ब रुपैयाँ बढी ब्याज थप हुने देखिएको छ ।

गत वर्षसम्म डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा आयोजनालाई थप ७ अर्ब ६ करोड रुपैयाँ व्ययभार थपिएको श्रेष्ठ बताउँछन् । आयोजना सुरु हुँदा १ डलर बराबर ८० रुपैयाँ थियो । ७ अर्ब ६ करोड थप रकम १ डलर बराबर औसत ९७ रुपैयाँ ६० पैसाको आधारमा हो । अहिले डलर बढेर ११२ रुपैयाँ छ । हाल डलरसँग नेपाली रुपैयाँ २५ प्रतिशतले अवमूल्यन भएको छ ।

आयोजनाको निर्माण अवधि लम्बिएपछि निर्माण सुपरिवेक्षण परामर्श सेवा, प्रशासनिक खर्च, बजार मूल्यमा वृद्धि, मुख्य सुरुङको डिजाइन संशोधन, हेडवक्र्समा केही सिभिल कामको परिमाण र करको दरमा भएको वृद्धिले समग्ररुपमा आयोजनाको लागत बढेको उनको भनाइ छ ।

यस्तै भूकम्पले गर्दा आयोजनाको अस्थायी र केही सिभिल संरचनामा क्षति पुग्न गई निर्माण र आयोजनाको समय लम्बिएपछि यसको असर प्रशासनिक र परामर्श खर्चमा परेको हो ।

०६५ चैत ७ गतेको सञ्चालक समिति बैठकले आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज र वित्तीय व्यवस्थापन तथा बैङ्क कमिसन अनुमानका आधारमा ४८ अर्ब ८६ करोड ४० लाख रुपैयाँ प्रक्षेपण गरेको थियो । जसअनुसार ३५ अर्ब २९ करोड मुख्य लागत, निर्माण अवधिको ब्याज १३ अर्ब २१ करोड ७० लाख र ३५ करोड ७० लाख रुपैयाँ वित्तीय व्यवस्थापन तथा बैङ्क कमिसन अनुमान गरिएको थियो ।

त्यसपछि ०७४ चैत ३० गतेको सञ्चालक समिति बैठकले अनुमानित लागतलाई संशोधन गरी ६९ अर्ब ५९ करोड १९ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । यसमा ब्याजबाहेक आयोजनाको अनुमानित लागत ४९ अर्ब २९ करोड ५५ लाख, निर्माण अवधिको ब्याज खर्च १४ अर्ब ४२ करोड ५८ लाख, चालू आर्थिक वर्षको ब्याजखर्च ५ अर्ब ४१ करोड ५६ लाख, वित्तीय व्यवस्थापन तथा बैङ्क कमिसन ३४ करोड ९६ लाख र सेयर निष्कासन खर्च १० करोड ५२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । आयोजना बनाउन ७ अर्ब ६६ करोड रुपैयाँ अपुग हुने देखिएपछि तामाकोसीले सञ्चय कोषलाई थप ऋण लगानीका लागि अनुरोध गरेको छ ।

थप व्ययभार नपर्ने गरी एन्ड्रिज हाइड्रोलाई लट – २ को ठेक्का

भारतको टेक्सम्याको इन्डिया लिमिटेडले लट – २ को काम गर्न नसकेपछि बाँकी काम अष्ट्रियाको एन्ड्रिज हाइड्रोले पूरा गर्ने भएको छ । आगामी साता अर्थात् पुस २३ गतेसम्म लट – २ को बाँकी काम सम्पन्न गर्न प्रवर्द्धक अपर तामाकोसी र हालको ठेकेदार टेक्सम्याको इन्डिया लिमिटेड र एन्ड्रिजबीच त्रिपक्षीय सम्झौता हुने छ ।

टेक्सम्याकोले एन्ड्रिजलाई बाँकी कामको ठेक्का दिन सहमत भएकाले प्रक्रिया अघि बढेको हो । लट–२ अन्तर्गत बाँधको गेट निर्माण, भर्टिकल पेनस्टक साफ्ट ठाडो सुरुङ जडानलगायत काम पर्छन् । यस लटमा पेनस्टकको सम्पूर्ण काममध्ये तल्लो पेनस्टकको हिस्सा करिब ७४ प्रतिशत हुन्छ । चार लटमा बाँडेर सुरु भएको निर्माणको अन्य काम करिब अन्तिम चरणमा छ ।