नेपाल जस्तो सानो मुलुकमा ५७ ओटा ग्यास उद्योग स्थापना हुनुले पनि बजारको अध्ययन नगरी उद्योगीले नयाँ उद्योग ल्याएको प्रस्ट हुन्छ । त्यही भएर पनि उद्योगीले व्यवस्थापन खर्च उठाउन नसकेपछि विक्रीको बाटो रोजेका हुन् ।
काठमाडौं : बजार अध्ययनबिनै ग्यास उद्योग स्थापना गरेका उद्योगीले उद्योग सञ्चालन गर्न नसकेपछि धमाधम बिक्री गर्न थालेका छन् । उद्योग स्थापना गर्नुपूर्व बजारको अध्ययन नै नगरी करोडौं रुपैयाँ लगानी गरेका उद्योगीले अहिले ठूला तथा स्थापित उद्योगलाई आफ्नो उद्योग बिक्री गर्न थालेका छन् ।
केही समयअघि नेपाल ग्यासले नाराणयी ग्यास किनेको थियो । त्यसैगरी नेपाल ग्यासले नै भर्खरै तारा ग्यास पनि किनेकाे छ । त्यसयता अहिले एक दर्जन उद्योग बिक्रीमा छन् । ग्यासको कोटा थोरै हुँदा व्यवस्थापन खर्चसमेत नउठेपछि साना उद्योगीले उद्योग बिक्री गर्न थालेका हुन् ।
नोबेल ग्यासलाई पूर्वको ठूलो ग्यास कम्पनी कोसीले किनेको छ । त्यसैगरी, लुम्बिनी ग्यासलाई पनि बाबा ग्यासले किनेको छ । कोसी ग्यासले नोबेलको जग्गासहित १८ करोडमा किनेको हो । त्यसैगरी शिव घिमिरेले पनि जग्गासहित २५ करोडमा त्रिशूल ग्यास किनेको स्रोतको दाबी छ । बाबाले लुम्बिनी ग्यास ११ करोडमा किनेको हो । यो मूल्य जग्गाबाहेकको हो । त्यसैगरी नेपाल ग्यासले पनि ११ करोडमा नारायणी ग्यास किनेको हो ।
नेपालसँग हाल नेपाल नारायणी, नारायणी र नेपाल र तारा ग्यास छ । घिमिरेसँग एभरेस्ट, सहारा, प्रिमा, सुगम ग्यास छन् । नयाँसहित उनीसँग पाँच ओटा ग्यास कम्पनी छन् । कोसीसँग पनि नोबेल, श्रीराम ग्यास उद्योग छन् ।
नेपाल जस्तो सानो मुलुकमा ५७ ओटा ग्यास उद्योग स्थापना हुनुले पनि बजारको अध्ययन नगरी उद्योगीले नयाँ उद्योग ल्याएको प्रस्ट हुन्छ । त्यही भएर पनि उद्योगीले व्यवस्थापन खर्च उठाउन नसकेपछि विक्रीको बाटो रोजेका हुन् ।
धादिङमा रहेको त्रिवेणी ग्यास पनि बिक्रीमा छ । त्यसैगरी, धादिङमै रहेको गीता ग्यास र काभ्रेपलाञ्चोकमा रहेको चण्डेश्वरी ग्यास बिक्रीमा छन् । उनीहरु पनि किन्ने मान्छे खोजिरहेका छन् । नमस्ते ग्यास पनि बिक्रीको तयारीमा छ ।
उद्योगको सञ्चालन खर्च अत्यधिक बढेको र त्यसलाई धान्न नसक्ने भएपछि उद्योगीले बिक्रीको बाटो रोजेको उद्योगीको भनाइ छ । ‘चलाउनै सकिन्न, कसरी सञ्चालन गर्ने ? एक उद्योगीले भने, ‘बेच्नुको विकल्प छैन ।’
त्रिशूल ग्यास किनेको घिमिरेले नेपालको जनसङ्ख्यालाई आधार मान्दा नेपालको ग्यास उद्योगको सङ्ख्या एकदमै धेरै भएको र उद्योग मर्ज वा बिक्रीमा जानुको विकल्प नभएको बताए । ‘कम क्षमताका उद्योग बाच्नै कठिन छ,’ उनले भने, ‘नबेचेर के गर्नु ? हाम्रो भोल्युम ठूलो भएकाले मात्रै जेनतेन टिकिरहेका छौं ।’
त्यति मात्रै हाेइन, एक वर्ष अघि मात्रै सञ्चालनमा अाएकाे पूर्वकाे पाथिरभा ग्यास उद्याेग पनि विक्रीमा छ । लाइसेन्स पाउँदा अत्यन्तै विवादित बनेकाे पाथिभरा एक वर्षसम्म पनि टिक्न सकेन । अहिले किन्ने उद्याेगी खाेज्दै छ ।
छाेटाे समयमा नाफा कमाउने उदेश्य राखेर याे क्षेत्रमा अाएका उद्याेगीहरू अहिले धमाधम उद्याेग बेच्न ग्राहक खाेज्दै हिडेका छन् । सञ्चालन खर्च थेग्नै नसक्ने अवस्था अाएपिछ उद्याेग विक्री गर्नुकाे विकल्प नभएकाे उनीहरूकाे भनाइ छ । ढुवानी खर्च, एनएस चिन्हलगायतका अन्य खर्च दिनानुदिन बढ्दै गएकाले समस्या भएकाे उद्याेगीकाे भनाइ छ ।