म्यानपावर व्यवसायी बलबहादुर तामाङमाथि राजस्व छलीको आरोप, ३ वर्ष कैदको माग

वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको भन्दै बिगो र जरिवानासहित १९ करोड ५७ लाख ४३ हजार ५ सय ७२ रुपैया ५९ पैसा र ३ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

काठमाडौं : करिब २० करोड राजस्व छली गरेको आरोपमा म्यानपावर व्यवसायी बलबहादुर तामाङमाथि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

स्काई ओभरसिज सर्भिसेस प्रालिका सञ्चालक एवम् वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष तामाङलाई विभागलेवैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको भन्दै बिगो र जरिवानासहित १९ करोड ५७ लाख ४३ हजार ५ सय ७२ रुपैया ५९ पैसा र ३ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

विभागमा गरेको बयान, बैङ्क खाताको विवरण, नियन्त्रणमा लिएका कागजात तथा अन्य प्रमाणहरुको अध्ययन एवम् विश्लेषणका आधारमा सो कम्पनीबाट वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्म जम्मा गराएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएको जनाइएको छ ।

त्यसकारण राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ४ (क) र (ख)बमोजिमको कसुर गरेको देखिएकाले आयकर ऐन, २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २९१० बमोजिम करयोग्य आयमा २५ प्रतिशतको दरले दाखिला गर्नुपर्ने आयकर, सोही ऐनको दफा १२०(ख) बमोजिम शुल्क, दफा ११८ र ११९ बमोजिम ब्याज समेतले हुने जम्मा रु. ६ करोड ५२ लाख ४७ हजार ८५७ रुपैया ५३ पैसा राजस्व चुहावट गरेकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा १२० (छ १) बमोजिम ६ करोड ५२ लाख ४७ हजार ८ सय ५७ रुपैयाँ ५३ पैसा बिगो कायम गरी प्रतिवादीलाई बिगोबापतको रकम असुल गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय मागदाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।