बेनीमा सञ्चालित छैठौं म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, आद्यौगिक, व्यापारिक तथा सांस्कृतिक मेलामा दर्शकको ओइरो लागेको छ । सोमबार बेनीको खुल्लामञ्च दर्शकले खचाखच भरिएको थियो । महोत्सवको प्रमुख आकर्षण स्थानीय तहस्तरीय पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता मङ्गलबारदेखि सुरु हुने खेलकुद संयोजक सुमन श्रेष्ठले बताए ।
पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा सोमबार हालसम्मकै बढी दर्शकले अवलोकन गरेका मुख्य आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीले जनाएका छन् । पचास रुपैयाँ दरका आठ हजारको हाराहारीमा टिकट बिक्री भएको सङ्घका द्वितीय उपाध्यक्ष एवम् टिकट व्यवस्थापन उपसमितिका संयोजक राजेश शाक्यले जानकारी दिए । उनका अनुसार सोमबार दश हजार दर्शकले महोत्सव अवलोकन गरे । बिदा र माघे सङ्क्रान्ति पर्व परेकाले म्याग्दीका साथै पर्वत, बागलुङ र पोखराबाट समेत दर्शकहरु आएका थिए । महोत्सवस्थल दर्शकले खचाखच भरिएको थियो भने स्टलहरुमा किनमेल गर्नेहरुको घुइँचो थियो ।
सोमबारको लोक दोहोरी गीत प्रतियोगितामा बुद्ध एकेडेमी र बानिया गहना पसल बीचको प्रतिस्पर्धामा बानिया गहना पसल बिजयी भएको छ । स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । उत्तेजक गीत, उस्तै हाउभाउ र पोसाकका कारण चर्चा कमाएकी लोक गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतिले महोत्सवको माहोल तताएको थियो । यसैगरी हास्य टेलिऋङखला भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाडे)को अभिनय, क्यारीकेचरले दर्शकलाई हँसाएको थियो । गजलकार समेत रहेका गायक थानेश्वर गौतमले गजल, सालैजो र फिल्मी गीतमा दर्शकलाई नचाए भने परदेशिएका युवाको बेदना समेटिएको गीत प्रस्तुत गरेर भावुक बनाए ।
म्याग्दीकै गायिका लाली बुढाथोकीले पञ्चेबाजा, सालैजो र दोहोरी गीतमा दर्शकलाई नचाइन् । अर्का स्थानीय कलाकार प्रकाश दुतराजको पनि प्रस्तुति थियो । कलाकार समेत रहेकी टेलीभिजन कार्यक्रम प्रस्तोता शर्मिला त्रिपाठीको कार्यक्रम सञ्चालन गर्ने शैलीले दर्शकलाई लोभ्याएको थियो । महोत्सवमा स्थानीय उत्पादन, औद्योगिक, सवारी साधन, कृषि औजार, व्यापारिकसँगै विभिन्न सेवा, सन्देशमूलक, रेष्टुरेन्ट, फेन्सी लगायत दुई सयओटा स्टल रहेका महासचिव लीलाराम गौतमले जानकारी दिए । महोत्सव डेढ करोड दर्शकले अवलोकन गर्ने र ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
म्याग्दी जिल्लाको सम्भावनाको उजागर, कला र संस्कृतिको संरक्षण, खेल प्रतिभाको पहिचान गराउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए । महोत्सवमा म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय स्थलको वृत्तचित्र र तस्बिरहरु प्रदर्शन गरिएको छ । बेनीदेखि लभहिलसम्म घोडा सफारी र जलेश्वरदेखि दोवील्नासम्म ¥याफ्टिङ सञ्चालन गरिएको छ । मेला माघ ७ गतेसम्म सञ्चालन हुने आयोजकले बताएका छन् ।