सरकारले निजी क्षेत्रसँग माग्यो लगानीयोग्य परियोजना, अध्ययन गरेका संयुक्त लगानीका लागि उपयुक्त हुनुपर्ने

निजी क्षेत्रबाट अध्ययन गरिएका संयुक्त लगानीका लागि उपयुक्त हुने परियोजना भएका सोको विवरण लगानी सम्मेलन २०१९ को सचिवालयमा उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए ।

काठमाडौं । सरकारले निजी क्षेत्रसँग लगानीयोग्य परियोजना माग गरेको छ । लगानी बोर्डको कार्यालयले लगानी सम्मेलनमा लगानीयोग्य परियोजना पेश गर्न निजी क्षेत्रसँग आयोजना माग गरेको हो ।

निजी क्षेत्रबाट अध्ययन गरिएका संयुक्त लगानीका लागि उपयुक्त हुने परियोजना भएका सोको विवरण लगानी सम्मेलन २०१९ को सचिवालयमा उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए । उनले आउँदो चैत १५ र १६ गते दुई दिन काठमाडौंमा हुने लगानी सम्मेलनमा पेश गर्नका लागि निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरिएको बताए ।

विदेशी लगानीकर्ताको सम्मेलनमा सहभागिता हुने बताउँदै उनले संयुक्त लगानीका परियोजना माग गरिएको जानकारी दिए । विदेशी लगानी ल्याउन प्रवर्द्धन गर्न सरकारले सम्मेलनको आयोजना गरेको उनले स्पष्ट पारे । सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, औद्योगिक र सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउने सरकारको योजना छ ।

२ वर्षअघि काठमाडौंमा भएको सम्मेलमा गरिएकामध्ये २५ प्रतिशत लगानी आउने अवस्थामा पुगेको छ । हालसम्म विभिन्न परियोजनामा २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको लगानी आउने क्रममा रहेको बोर्डले जानकारी गराएको छ ।

समझदारीमा हस्ताक्षर भएकामा अधिकांश जलविद्युत् आयोजना छन् । यस्तै विभिन्न २३ कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा चासो देखाएका र उनीहरुले आयोजना प्रस्ताव पनि पेश गरिसकेका छन् । त्यसबेला १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

लगानीमैत्री वातावरणको अवस्था सिर्जना गर्न सरकारले विभिन्न आर्थिक ऐनलाई संशोधन गर्नका लागि सङ्घीय संसदको चालू अधिवेशनमा अधिकांश ऐन पेस गर्ने सरकारको लक्ष्य छ ।

आउँदो सम्मेलनमा प्रस्तुत गर्नका लागि विभिन्न क्षेत्रका ३० ओटा परियोजनाको अध्ययन भइरहेको छ । आयोजनाको सम्भाव्यता अध्ययनका लागि डेस्क स्टडिज र तथ्याङ्क सङ्कलनको काम भइरहेको बोर्डले जानकारी दिएको छ ।