सिन्धुलीको खाङ्साङमा पहिलो ‘फिक्कल महोत्सव’ हुने

जिल्लाकै अग्लो फिक्कल डाँडा पर्यटकीय क्षेत्र भनेर चिनाउने उद्देश्यले फिक्कल गाउँपालिकाको आयोजनामा महोत्सव गर्न लगिएको उपाध्यक्ष तथा महोत्सव संयोजक पार्वती सुनुवारले जानकारी दिइन् ।

काठमाडौ । सिन्धुलीको खाङ्साङमा आगामी माघ २ गतेदेखि पहिलो ‘फिक्कल महोत्सव’ हुने भएको छ । फिक्कल डाँडाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । ‘सडक, शिक्षा र बिजुली फिक्कलको पूर्वाधार, कृषि, वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।

जिल्लाकै अग्लो फिक्कल डाँडा पर्यटकीय क्षेत्र भनेर चिनाउने उद्देश्यले फिक्कल गाउँपालिकाको आयोजनामा महोत्सव गर्न लगिएको उपाध्यक्ष तथा महोत्सव संयोजक पार्वती सुनुवारले जानकारी दिइन् । आगामी माघ ७ गतेसम्म चल्ने महोत्सवमा गाउँपालिकामा रहेका कृषि, जलस्रोत, पर्यटन, जडीबुटी क्षेत्रको जानकारी तथा प्रचारप्रसार गर्ने, गाउँपालिकाभित्र रहेका ऐतिहासिक धरोहर र विभिन्न जातजातिका संस्कृतिको प्रवद्र्धन गरिने जनाइएको छ ।

महोत्सवमा सुनुवार र मगर जातिको संस्कृति झाँकी तथा नृत्य प्रदर्शन गरिने, राई जातिको वेषभूषा र सांस्कृतिक महत्वबारे जानकारी दिइने, ब्राह्मण जातिको भजन प्रदर्शन गरिने, नौमती बाजा र भलिबल प्रतियोगितासमेत आयोजना हुने जनाइएको छ ।

महोत्सवमा किबी, आलु पकेट क्षेत्रको दृश्यावलोकन गराइने, फिक्कल डाँडाको दृश्यावलोकन गराउने, सुनकोशी नदीमा ¥याफ्टिङ गराइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । महोत्सवमा एक लाख पर्यटक आउने र करीब रु ५२ लाखको कारोबार हुने अनुमान गरिएको छ ।

कार्यक्रममा सिन्धुलीका सांसद गणेशकुमार पहाडीले फिक्कललाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चिनाउन चाहेको उल्लेख गरे । सिन्धुलीगढी, फिक्कलगढीलगायत गढीको युद्धमा अङ्ग्रेजले हारेको ठाउँ भनेर गर्व गर्न लायक ठाउँको प्रचारप्रसार नहुनु दुःखद् भएको उनले बताउनुभयो । गाउँपालिकाले पुराना र महत्वपूर्ण चिनारीका रुपमा रहेको सम्पदालाई संरक्षण गरेर अघि बढ्ने उद्देश्यअनुरुप महोत्सव आयोजना गरिएको अध्यक्ष धनबहादुर कार्कीले बताए । रासस