हप्ता दिनभित्र विद्युत् प्राधिकरणले नयाँ मिटर जडान गरिदिने

प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेजको मिटर प्रयोग गर्छन् । यसैगरी, थ्री फेज र टाइम अन डे (टीओडी) नयाँ मिटर क्रमश ः १५ र ३० दिनभित्र जडान गरिदिने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सिङ्गल फेजको नयाँ मिटर सात दिनभित्र जडान गरिदिने भएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्र जडान गरिदिने प्रतिबद्धता जनाएको हो ।

प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेजको मिटर प्रयोग गर्छन् । यसैगरी, थ्री फेज र टाइम अन डे (टीओडी) नयाँ मिटर क्रमश ः १५ र ३० दिनभित्र जडान गरिदिने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् चुहावट तथा प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएका छन् ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । घिसिङले ग्राहक सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्न निर्देशन दिएका हुन् ।

नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको ग्राहकबाट गुनासो आएपछि प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ । अब हरेक वितरण केन्द्रले आफूले प्रदान गरिने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क मोबाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नु पर्ने छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनायले प्रतिबद्धता पत्र आफू मातहतका कार्यालयहरुमा राख्न ८ ओटै क्षेत्रीय कार्यालयलाई परिपत्र गरिसकेको छ ।

सिङ्गल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिन, थ्री फेजको तीन दिन र टीओडी १० दिनभित्र जडान÷मर्मत गर्ने प्रतिबद्धा प्राधिकरणले जनाएको छ । सर्भिस केबल तथा वितरण लाइन बिग्रेमा १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट मर्मत गरिने छ । यसैगरी, मिटर रिडिङ र बिलसम्बन्धी समस्या १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट समाधान गर्ने प्रतिबद्धता प्राधिकरणको छ ।

प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५०मा अभिलेख गर्न सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई क्षेत्रीय कार्यालय र त्यसअन्तर्गतका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ ।