सहुलियत दिएर निगमलाई कति समय टिकाउन सकिन्छ ?  नवनियुक्त एमडी भन्छन्, ‘डाटा बेस सङ्कलन गर्ने काम सुरु गर्छु’

निगमले ग्यास उपभोक्तालाई सहुलियतमा बेचिरहेको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य स्वचालित बनाइए पनि ग्यास भने निगमले सहुलियत दरमा बेचिरहेको छ ।

काठमाडौं : वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेट्रोलियम पदार्थमा सहुलियत दिएर नेपाल आयल निगमलाई टिकाउन नसकिने बताएका छन् । भारतबाट ल्याएर यहाँ सहुलियतमा दिएर निगमलाई धरासायी बनाउने मात्रै काम भएको भन्दै मन्त्री यादवले तत्काल सहुलियत बन्द गर्नुपर्ने बताएका छन् ।

नेपाल आयल निगमको ४९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘पेट्रोलियम पदार्थ महँगोमा किनेर सस्तोमा बेच्ने परम्परा बन्द हुनुपर्छ, यो हाम्रो उत्पादन होइन ।’ उनले आक्रोश पोख्दै भने, ‘अर्काको देशबाट ल्याएको वस्तु पनि सहुलियतमा बेच्नुपर्ने ?’

देशको उत्पादन बिक्रीमा सहुलियत दिनुपर्छ । आयातीत प्रडक्टमा सहुलियत दिन नहुने उनको भनाइ छ । निगमले ग्यास उपभोक्तालाई सहुलियतमा बेचिरहेको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य स्वचालित बनाइए पनि ग्यास भने निगमले सहुलियत दरमा बेचिरहेको छ ।

निगमले दिनको अर्बौं रुपैयाँ कारोबार गर्ने व्यावसायिक घरनालाई पनि सहुलियतमा ग्यास उपलब्ध गराउँदै आएको छ । निगमले अहिलेको मूल्यअनुसार प्रतिसिलिन्डर ८० रुपैयाँ सहुलियत दिँदै आएको छ । नेपालमा भित्रिने ग्यासमध्ये ३० देखि ४० प्रतिशत व्यावसायिक घरनाले प्रयोग गर्ने गरेको निगमको तथ्याङ्क छ ।

पूर्व प्रधानमन्त्री, मन्त्री, सचिव, पूर्व राजा तथा व्यावसायिक घरानादेखि सर्वसाधारण मानिसले समेत प्रतिसिलिन्डर ग्यासमा छुट लिइरहेका छन् । ‘हुनेखानेले सहुलियत लिन्न समेत भन्न सकेका छैनन्,’ उनले भने, ‘अब निगमले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’

निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले ग्राहकको वर्गीकरण गरेर छुट्याउने बताए । ‘अहिले सबैले एउटै मूल्यमा ग्यास उपभोग गरिरहेका छन्,’ उनले भने, ‘अब वर्गीकरण हुन्छ, आवश्यक पर्नेलाई मात्रै छुट दिइन्छ ।’ उनका अनुसार ग्यासलाई स्वचालित मूल्यमा लैजान सकियो भने पनि निगमलाई घाटा हुँदैन । त्यसतर्फ पनि निगमले सोचिरहेको छ ।

‘सबैभन्दा वैज्ञानिक भनेको ग्यासको मूल्य पनि स्वचातिल बनाउने हो,’ उनले भने, ‘स्वचालित प्रणाली लागू गर्नेबित्तिकै सबै समान हुन्छ ।’