कर उठाउन शनिबार पनि राजश्व संकलन कार्यालय र बैंक खुला हुने, विद्युतीय माध्यमबाट पनि भुत्तानी गर्न सकिने

गत साउनयताको कारोबारको अनुमानित करको विवरण र सोको आधारमा तिर्नुपर्ने प्रथम किस्ता वापतको ४० प्रतिशतले हुन आउने रकम पुसभित्र दाखिला गर्न राजश्व कार्यालयले व्यवसायीलाई अनुरोध गरेको छ ।

काठमाडौं । सरकारले कर उठाउन शनिबार पनि राजश्व कार्यालय र बैंकलाई खुला राख्ने भएको छ । पुस मसान्तसम्म पहिलो किस्ता राजश्व संकलन गर्नका लागि सरकारले २८ गते शनिबारका दिन राजश्व कार्यालय र बैंक खुला हुने जानकारी गराएको हो ।

कार्यालयका राजश्व काउन्टर र राजश्व संकलनका लागि अनुमाति पाएका बैंकका सबै काउण्टर खुला हुने आन्तरिक राजश्व विभागले जनाएको छ ।
यस्तै गत असोज १ गतेदेखि एकिकृत प्रणालीको ट्याक्स पेयर पोर्टलबाट प्रवेश गरी करदाताले विद्युतीय भुत्तानी प्रणालीमार्फत राजश्व दाखिला गर्न सकिने आन्तरिक राजश्व कार्यालयले जानकारी दिएको छ ।

सरकारले चालु आर्थिक वर्षको अनुमानित करको विवरण तथा आयकरको प्रथम किस्ता वापतको रकम दाखिला गर्न ताकेता गरिरहेको छ । गत साउनयताको कारोबारको अनुमानित करको विवरण र सोको आधारमा तिर्नुपर्ने प्रथम किस्ता वापतको ४० प्रतिशतले हुन आउने रकम पुसभित्र दाखिला गर्न राजश्व कार्यालयले व्यवसायीलाई अनुरोध गरेको छ ।