काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता त्रिभुवन विमानबाट आउने यात्रुले नियम विपरीत ल्याएका ३५ किलो सुन जफत भएको छ । यसको बजार मूल्य करोडौं रुपैयाँ हुन्छ ।
साउनयता नेपालीले विभिन्न मुलुकबाट ल्याएका छुट सीमा भन्दा बढी परिमाणको सुन जफत गर्दा ३५ किलो पुगेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा विमानबाट नेपाल आउने यात्रुले कानुन विपरीत ल्याएको सुन पनि जफत गरिएको हो ।यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ।
जफत गरिएको सामान लिलाम बिक्री गरिने विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले बताए।
उनले भने भन्सार प्रमुख वा उसले तोकेको प्रतिनिधि संयोजक रहने जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रतिनिधि सदस्य रहेको समितिले जफत गरिएका सामानको मूल्य निर्धारण गर्छ र सार्वजनिक सूचना गरेर बोलकबोलको माध्यमबाट लिलाम बिक्री गरिन्छ।
विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन कर तिरेर ल्याउन सक्छन्। सो भन्दा बढी सुन ल्याएमा जफत हुने र जफत गरिएको सुन बराबरको थप रकम समेत तिर्नु पर्ने हुन्छ। जफत गरिएको सुन राष्ट्र बैंकमा बुझाउने गरिन्छ। सुन जफत दिनहुँ हुने गरेको छ ।जफत गरिएका मध्ये धेरै सुन गहना रुपमा ल्याइएको छ । औंठी, तिलहरी, सिक्रीजस्ता गहना बनाएर परिमाण भन्दा बढी सुन ल्याउने गरिएको भन्सास कार्यालयले जानकारी दिएको छ ।
भन्सार छुटभन्दा बढी परिमाणमा ल्याएर जफत गरिएका मदिरा लगायतका अन्य सामानलाई समितिले मूल्याङ्कन गरेपछि लिलाम बिक्री गरिने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ।
त्यही अनुसार निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको जनाएको छ। कडाइ गरिएको १ सातामा सबैभन्दा बढी विभिन्न ब्राण्डका मदिरा जफत भएको छ ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सापकोटाले कडाइ गरिएको एक साता भएको जानकारी दिए । यो अवधिमा एक हजार पाँच सय एकसठ्ठी बोतल विभिन्न ब्राण्ड र परिमाणका मदिरा बरामद भएका छन्। एक जना यात्रुले एक भन्दा बढी बोतल बोकेर ल्याउने गरेको पाइएको छ।
यात्रुहरूले १ लिटरसम्मको एक बोतल मदिरा भने राजश्व नतिरेर ल्याउन पाउँछन्। त्यो भन्दा बढी परिमाणको मदिरा जफत गर्ने गरिएको छ। कम्प्युटर, ल्यापटप, ट्याबलेट, घडी, क्यामेरा, फोन र पेन ड्राइभ १र१ थान राजश्व नतिरैरै ल्याउन सकिन्छ भने विभिन्न सामानहरू निश्चित परिमाणसम्म मूल्यको ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ। स्रोत : बीबीसी