ब्रोकरले गर्ने मार्जिन ट्रेडिङलाई कार्यान्वयनमा ल्याउने काम अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनले अर्को साताको अन्तिमसम्म मार्जिन ट्रेडिङ कार्यान्वयनमा आइसक्ने जानकारी गराए ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्को सातादेखि मार्जिन ट्रेडिङ कारोबारलाई कार्यान्वयनमा ल्याउने भएको छ । ब्रोकरले गर्ने मार्जिन ट्रेडिङलाई कार्यान्वयनमा ल्याउने काम अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनले अर्को साताको अन्तिमसम्म मार्जिन ट्रेडिङ कार्यान्वयनमा आइसक्ने जानकारी गराए ।
लगानीसम्बन्धी कुरा भएकाले नेपाल राष्ट्र बैङ्कसँग स्वीकृति लिएर कार्यान्वयनमा ल्याउने उनले सुनाए । यस विषयमा हाल केन्द्रीय बैङ्क र बोर्डबीच लगानीको विषयमा छलफल चलिरहेको उनले स्पष्ट पारे । यस्तै मार्जिन ट्रेडिङबापत् ब्रोकरले लिने सेवा शुल्क निर्धारण हुन बाँकी छ । सेवा शुल्क तोक्ने तयारी भइरहेको उनले जानकारी दिए । ब्रोकरको शुल्क निर्धारण हुनासाथ कार्यान्वयनमा आउने छ । ब्रोकरले लगानी गर्ने भएकाले शुल्क निर्धारण आवश्यक भएको बोर्डको भनाइ छ ।
बोर्डले सेयर बजारलाई थप गति दिनका लागि गत वर्ष नै सेयरधितो राखेर ब्रोकरबाट कर्जा दिन पाउने व्यवस्था गरेको थियो । बोर्डले गत जेठमा नियमावली पारित गरेपनि प्राविधिक कामले गर्दा ढिलाइ हुन पुगको गिरीको भनाइ छ । कार्यविधि तत्काल कार्यान्यनमा ल्याउन बोर्डले जेठ ३ गते नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडलाई निर्देशन दिएको थियो । बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ र कार्यविधि, २०७५ जारी गरेको थियो । मार्जिन ट्रेडिङले दोस्रो बजारमा लगानी बढाउने, सेयर कारोबारमा सहजता र कारोबारको दायरासमेत फराकिलो हुने गिरीले बताए ।
नेप्सेमा सूचीकृतमध्ये धेरै कम्पनीको सेयर मार्जिन ट्रेडिङ नहुने देखिएको छ । बैङ्क तथा वित्तीय कम्पनी, बीमा, जलविद्युत्, होटल र उत्पादनमूलक गरी दुई सयभन्दा बढी कम्पनी नेप्सेमा सूचीकृत छन् ।
धितोपत्र बोर्डले मार्जिन कर्जाका लागि न्यूनतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकारात्मक रही २ वर्षदेखि न्यूनतम १० प्रतिशत लाभांश वितरण र आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसकेको कम्पनीका सेयरको मात्र मार्जिन ट्रेडिङ हुन पाउने व्यवस्था छ । यो व्यवस्थाले अधिकांश बैङकको सेयर कारोबार नहुने देखिन्छ ।
ब्रोकर कम्पनी आफूले लगानी गर्ने नभई जमानी बसेर बैङ्कमार्फत सेयर कर्जा दिने व्यवस्था हुनेछ । यसमा नाफा र घाटा दुवै लगानीकर्ताको हुने छ । ब्रोकर कम्पनीको बैङ्कसँग साझेदारीमा यस्तो कर्जा दिने व्यवस्था हुने छ ।