दुई वर्षदेखि रोकियो सिसाखानी उत्खनन

सिसाखानी उत्खनन हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् ।

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ ।

सिसाखानी उत्खनन हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन शुरु गरिएको थियो । खानीबाट पाँच छ क्विन्टल बढी सिसा उत्खनन भएपछि काम रोकिएको थियो ।

सिसाखानी उत्खनन शुरु गरिएपछि गाउँमै रोजगारी पाउने आशा बोकेका स्थानीयवासी उत्खनन् कार्य अघि नबढेपछि अहिले कामको खोजीमा भारतीय बजार गएको स्थानीय महादेव ठगुन्नाले बताए । खानी शुरु भएदेखि नै स्थानीय मजदुरले नै काम पाउनुपर्ने माग स्थानीयवासीले गरेका थिए ।

खानीसम्म सडक पुगेको छैन । भौगोलिक रुपमा विकट भए पनि माइन्स प्रालिले खानी उत्खनन शुरु गरेको थियो । “सडक पहुँचबाट टाढा रहेका कारण सबै क्षेत्रमा उपकरण पुर्याएर उत्खनन् हुने अवस्था अहिले नै थिएन”, व्ल्याक हेड माइन्स प्रालिका राममणि भुसालले भने । थौरै प्राविधिक समस्याका कारण पनि पुनः उत्खनन गर्न नसकेको उनको भनाइ थियो ।

खानी उत्खननका लागि दक्ष जनशक्ति बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ । ढिला भए पनि खानी उत्खनन गरिने प्रालिले जनाएको छ । अहिले सडक पहुँच नहुँदा रानीशिखरबाट सडकसम्म पुग्नै चार घण्टा बढी उकाली ओराली गर्नुपर्छ । रासस