शशिकान्तको दोस्रो म्यारियट १४ फेब्रुअरीबाट, १५ हजारदेखि एक लाखसम्मका कोठा

एमएस ग्रुपले नर्मल, सुइट र प्रेसिडेन्टियल गरी तीन तहका रुम बनाएको छ । कम्पनीले नर्मल रुमको एक सय ५० डलर रुपैयाँ तोकेको छ । त्यसैगरी, सुइट्स रुमको ३ सय डलर प्रेसिडेन्टियल रुमको मूल्य एक हजार डलर तोकिएको छ ।

काठमाडौं : एमएस ग्रुपले ल्याउन लागेको पाँचतारे होटल ‘म्यारियट’मा १५ हजारदेखि एक लाख रुपैयाँसम्म रुम रेट तय भएको छ । फेब्रुअरी १४ तारिखमा सफ्ट लन्च गर्न लागिएको होटलको रुम रेट फाइनल भएको हो ।

एमएस ग्रुपले नर्मल, सुइट र प्रेसिडेन्टियल गरी तीन तहका रुम बनाएको छ । कम्पनीले नर्मल रुमको एक सय ५० डलर रुपैयाँ तोकेको छ । त्यसैगरी, सुइट रुमको ३ सय तथा प्रेसिडेन्टियल रुमको मूल्य एक हजार डलर तोकिएको छ ।

म्यारियटमा कुल २ सय १५ रुम छ । त्यसमध्ये सुइट्स र प्रेसिडेन्टियल २१ ओटा छन् । बाँकी नर्मल रुम तयार भएका छन् । ‘रुमको न्यूनतम रेट एक सय ५० डलरभन्दा कम राखे खर्च नै उठाउन सकिन्न,’ एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

सम्पूर्ण व्यवस्थापन म्यारियटले नै गर्ने छ । अग्रवालले यसअघि ल्याएको ठमेलको म्यारियटको व्यवस्थापन पनि उसैले जिम्मा लिएको छ । ‘तीन अर्ब रुपैयाँ लगानीमा खुलेको उक्त होटलको सम्पूर्ण काम सकिएको छ । अब सफ्ट लन्च हुन्छ,’ उनले भने, ‘आन्तरिक रुपमा केही व्यवस्थापन मिलाउन बाँकी छ ।’

१३ रोपनी क्षेत्रफलमा फैलिएको होटलको सम्पूर्ण पूर्वाधारको काम सकिएको छ । पछिल्लो समय नेपालमा चेन होटल खुल्ने क्रम बढेकोे छ । चेन होटल ल्याएपछि व्यवसाय पनि बढ्ने र विदेशी पर्यटकलाई आकर्षित गर्न सजिलो हुने अग्रवालको भनाइ छ ।