आर्थिक वृद्धि लक्ष्य पूरा गर्न चुनौतीको सङ्केत

यो वर्ष १.५० प्रतिशतले उत्पादन घटेपछि त्यसको असर मुलुकको अर्थतन्त्रमा देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा लिएको ७.२ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलाई पूरा गर्न कठिन हुने नेपाल नेपाल राष्ट्र बैङ्कले सङ्केत गरेको छ । पाँच महिनाको मुलुकको आर्थिक परिदृश्य सार्वजनिक गरेको बैङ्कले सकारात्मक सङ्केत देखिएको बताए पनि कृषि क्षेत्रको वृद्धिले समग्र आर्थिक वृद्धिको आगामी परिदृष्य निर्धारण गर्ने उल्लेख गरेको छ ।

गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन घटेको छ । चालु आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन मात्र धान फलेको छ । गत वर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो । यो वर्ष १.५० प्रतिशतले उत्पादन घटेपछि त्यसको असर मुलुकको अर्थतन्त्रमा देखिएको छ । ‘आर्थिक वृद्धिको गति कृषिक्षेत्रको उत्पादनले निर्धारण गर्ने देखिन्छ; राष्ट्र बैङ्कले भनेको छ‘…, हालसालै पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिले आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने जोखिम रहेको छ ।’

पछिल्लो समय मुद्रास्फीतिमा केही चाप पर्न थालेको उल्लेख गर्दै हिउँदे वर्षामा निर्भर रहने हिउँदे बाली उत्पादनको परिदृष्य अझै स्पष्ट नभइसकेको जनाएको छ । यसले के सङ्केत गर्छ भने यो वर्ष कृषि क्षेत्रले आर्थिक वृद्धिमा अपेक्षित सहयोग नगर्न सक्छ ।

पछिल्लो समय मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान क्रमशः घट्दै गएको छ । गत आर्थिक वर्षमा जीडीपीमा कृषिक्षेत्रको योगदान घटेर २८ दशमलव ९ प्रतिशतमा सीमित भएको थियो । उद्योगको क्षमता उपयोगमा भएको विस्तार, कच्चा पदार्थको आयातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार र पुनर्निर्माण कार्यले लिएको गतिले सकारात्मक हुँदै गएको जनाएको छ ।