विदेशमा लगानी गरेको भन्ने सीआईजे रिपोर्टको चार व्यवसायीद्वारा खण्डन

बुधवार सीआईजेले सार्वजनिक गरेका पाँच समाचारमा मुछिएका व्यवसायीहरु अरुणकुमार चौधरी, चन्द्रप्रसाद ढकाल, शशिकान्त अग्रवाल र राजेन्द्र बजगाईंले खण्डन गरेका हुन् ।

काठमाडौं । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म (सीआईजे) नेपालमार्फत तयार भएको रिपोर्टमा विदेशमा लगानी गरेको र पैसा राखेको सूचीमा आफ्नो नाम जोडिएकोमा चार व्यवसायीले खण्डन गरेका छन् ।

बुधवार सीआईजेले सार्वजनिक गरेका पाँच समाचारमा नाम रहेका व्यवसायीहरु अरुणकुमार चौधरी, चन्द्रप्रसाद ढकाल, शशिकान्त अग्रवाल र राजेन्द्र बजगाईंले खण्डन गरेका हुन् ।

आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्विस बैङ्कमा खाता नभएको बताएका छन् । ‘हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैन र हाम्रो समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन,’ बिहीबार पत्रकार सम्मेलन गर्दै उनले भने ।

बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेसल कन्सोर्टिएम अफ इन्भेस्टिगेटिभ जर्नलिज्म (आईसीआईजे)सँग उपलब्ध प्याराडाइज पेपर, पनामा पेपर र स्विस लिकमा आधारित भएको र प्याराडाइज पेपर, पनामा पेपर र स्विस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कहिँकतैबाट नजोडिएको उनले बताए ।

‘कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरी, हाम्रो सार्वजनिक छविमा क्षति पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने ।

आइएमईमार्फत नेपालमा रेमिट्यान्स भित्र्याउन १७ जुन २००२ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको उनले बताए । ‘कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेका पनि होइनौं । बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स भित्र्याउन थालेका हौं,’ उनले भने ।

आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट लिमिटेडलाई इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको ढकालले भने ।

कम्पनी सुरु गरेपछि आफू (चन्द्रप्रसाद ढकाल) त्यो कम्पनीको सञ्चालक बनेको र २० जुलाई २०१० मा राजीनामा दिएको उनले बताए । भाइ हेमराज ढकालका सन्दर्भमा उनी गैरआवासीय नेपालीको हैसियतमा उनले विदेशमै कमाएर उतै लगानी गरेको कुरा कानुनसम्मत भएको उनले बताए ।

अर्का व्यवसायी अरुणकुमार चौधरीले नेपालबाट विदेशमा आफूले कुनै लगानी नलगेको बताए । ‘दस बाह्र वर्षअघि एक पाउण्डमा खोल्न मिल्ने कम्पनी साथीहरुसँग मिलेर खोलिएको थियो, तर त्यो केही वर्षमै अस्तित्वमा आएन । तर, अहिले विदेशमै अर्बाैं लगानी भएजस्तो गरेर रिपोर्ट आएको छ,’ उनले भने । ‘लण्डनमा छोराहरुको स्कुल फी तिर्न सजिलो हुन्छ भनेर कम्पनी खोल्न साथीहरुले भनेपछि खोलेको हुँ, तर त्यसले कुनै लगानी गरेन र नेपालमा पनि त्यहाँबाट लगानी आएन । अहिले यति ठूलो कुरा बनाइएको छ,’ उनले भने ।

अर्का व्यवसायी शशिकान्त अग्रवालले नेपालमा खोलेको चिनी उद्योग तथा भर्खर सञ्चालनमा आएको होटलमा एक पैसा पनि विदेशबाट नल्याएको बताए । त्यस्तै एक पैसा पनि नेपालबाट विदेशमा नलगेको जानकारी दिए । ‘मैले विदेशमा कुनै पनि कम्पनी पनि खोलेको छैन । खोल्ने कुराको विषयमा पहिला पनि समाचार आएको थियो, र त्यतिखेरै सकिएको थियो,’ उनले भने ‘फेरि त्यही विषयमा समाचार लेखेर मेरो प्रतिष्ठामा आँच पुर्याइएको छ ।’

पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले विदेशमा जोकोही नेपालीले एक डलर वा पाउण्डमा कम्पनी खोल्न सक्ने बताए । ‘फेसबुकको अकाउन्ट खोलेजस्तै गरेर विदेशमा कम्पनी खोल्न सजिलो छ, यति कुरा खोजी पत्रकारिताले थाहा पाउनुपर्ने हो,’ बजगाईंले भने, ‘तर, नेपालबाट नै पैसा लगेर विदेशमा कम्पनी खोलेजस्तै समाचार आयो ।’ ‘मैले एक रुपैयाँ पनि नेपालबाट विदेश लगेको छैन, बरु विदेशी लगानी नेपाल भित्र्याएको छु,’ उनले भने । कानुनले बन्देज गरेको तथा नेपालबाट विदेश पैसा लैजान नपाउने नियम आफूले पनि पालना गरेको उनले बताए ।