मोहित बनाउने म्याग्दी

दानाको रुप्से, हिस्तानको महभीर, लुलाङको नर्जा, मुदीको घोप्टेओडार, भुङकोटलगायत झरना कुनै रुपवती युवतीले ओढेको सेतो पछ्यौरी हावाले उडाउन लाग्दा सम्हालेकोजस्ता दृश्य लाग्छन् ।

जलस्रोत, पर्यटन, कृषि, पशुपालन र जडिबुटीको क्षेत्रमा सम्भावनै सम्भावनाको क्षेत्र हो म्याग्दी । तर, सम्भावना हुँदाहुँदै पनि यो पहिचान, संरक्षण, पूर्वाधार र खोजअनुसन्धानको कमीका कारण ओझेलमा परेको छ । म्याग्दीलाई समृद्ध एवम् विकसित बनाउन राज्य तथा निजीक्षेत्र लगानी भिœयाउनमा केन्द्रित हुनुपर्ने म्याग्दी बहुमुखी क्याम्पसका प्रा. भोलानाथ घिमिरेको भनाइ छ ।

‘प्राकृतिक स्रोतसाधन भएर मात्र हुँदैन, त्यसलाई सही रुपमा परिचालन गर्न सके मात्र विकास हुने हो,’ उनले भने, ‘सरकारले लगानी भिœयाउन अनुकूल नीति एवम् वातावरण बनाउनुपर्छ ।’

प्राकृतिक एवम् मानवीय स्रोतसाधन परिचालन उत्पादन वृद्धि, आत्मनिर्भर, रोजगारी तथा आयआर्जनको अवसर सिर्जनाका लागि प्रमुख आधार हो । पर्यटन, जलविद्युत्, जडिबुटी र खनिज सम्पदा समुदायको मात्र नभएर स्थानीय, प्रदेश र सङ्घीय सरकारको आयस्रोतको माध्यम हो ।

जलविद्युत्मा बामे
म्याग्दी जलविद्युत्मा बामे सर्दै छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीबाट एक हजार दुई सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ । तर पनि यो अध्ययनअनुसन्धान र कागजी प्रक्रियामै सीमित छ ।

म्याग्दीमा १ सय ४४ दशमलव ३ मेगावाट क्षमताका सात आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएको विद्युत् विकास विभागको भनाइ छ । साथै एक सय ६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । तीन सय ५८ मेगावाट क्षमताका ११ ओटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवद्र्धक कम्पनीले अनुमति पाएका छन् । यसैगरी २ सय ४२ मेगावाट क्षमताका आठओटा आयोजना सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ । अन्नपूर्ण गाउँपालिका ४ घरापमा रहेको दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ ।

नेपाल विद्युत् प्राधिकरणले रघुगङ्गा गाउँपालिकामा बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि सहायक कम्पनी बनाएको छ । र, हालै भारतीय कम्पनी जेपी एसोसिएट्ससँग ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा स्थानीय व्यापारीको अगुवाइमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको करिब ७५ प्रतिशत निर्माण पूरा भएको छ ।
नारच्याङमै १० ओटा जलविद्युत् आयोजना निर्माण चरणमा छन् । रोबस्ट इनर्जी प्रालिले बनाउन लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको निर्माण कार्य ४० प्रतिशत सकिएको छ । ४२ मेगावाटको नीलगिरि र ६२ को नीलगिरि क्यास्केट, शिख र घारमा १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ । धौलागिरी गाउँपालिका ४ मुदीमा हाइड्रो इम्पाएर प्रालिले २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

अपर म्याग्दी (८०), तिप्ल्याङ कालीगण्डकी (९५), मध्यकालीगण्डकी (५३ दशमलव ५३), नीलगिरि क्यास्केट (६२), म्याग्दीखोला (५७) मेगावाटलगायतका ३५८.३४ मेगावाट क्षमताका ११ ओटा आयोजना सर्वेक्षणको चरणमा छन् ।

लगानीमैत्री वातावरण, प्रसारण लाइन, सब स्टेसन र पहुँचमार्गलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएमा म्याग्दीको जलविद्युत् विकासले गति लिने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष खड्गबहादुर विष्टले बताए । प्राधिकरणले कालीगण्डकी र आसपासका नदीमा सञ्चालन गरेका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न २ सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत कुश्मा–दाना प्रसारण लाइन (३८ किमि) र दाना सबस्टेसन निर्माण गरिरहेको छ ।

म्याग्दीखोला क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न मालिका गाउँपालिका ७ बिमको डाँडाखेतमा सबस्टेसन र त्यहाँदेखि दानासम्म प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ । भौगोलिक रुपमा बिकट र दुर्गम स्थानमा रहेका जलविद्युत् आयोजना स्थलसम्म पहुँचमार्गको अभाव र वनसम्बन्धी नीतिगत व्यवस्थाका कारण कतिपय आयोजना बर्सौंदेखि अघि बढाउन नसकिएको प्रवद्र्धकहरुको भनाइ छ ।

नगर तथा गाउँपालिकाले जलविद्युत् विकासका लागि स्थानीय स्तरमा अनुकूल वातावरण बनाउने र लगानी भिœयाउन अनुकूल नीति बनाएका छन् । नमुना गाउँपालिका बनाउन ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले बताए ।

पर्खाइ पर्यटन पूर्वाधारको
म्याग्दीका केही पर्यटकीय स्थलमा मात्र पर्यटक भित्रन सकेका छन् । पूर्वाधार, प्रचारप्रसार र प्रवद्र्धन अभावमा धेरैजसो पर्यटकीय स्थल ओझेलमा छन् । अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, सिङ्गा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरी र अन्नपूर्ण आधार शिविर तथा ढोरपाटन सिकार आरक्ष म्याग्दीका पर्यटकीय गन्तव्यका रुपमा परिचित छन् ।

धौलागिरी आइसफल, धौलागिरि सेन्चुरी, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धौलागिरि, टोड्के, लभ्लीहिल, मोहरेडाँडा म्याग्दीका उदीयमान पर्यटकीय स्थल हुन् । विभिन्न ११ ओटा हिमाल रहेको म्याग्दीका अधिकांश बस्तीबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । संसारको सातौँ अग्लो ८ हजार १ सय ६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि, अन्नपूर्ण पहिलो (८ हजार ८१), गुर्जा (७ हजार १ सय ९३), मानापाथीलगायत हिमाल म्याग्दीको सौन्दर्यमा ‘चार चाँद’ बनेका छन् ।

प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रुपमा वर्णन गरिने अन्नपूर्ण र धौलागिरि चक्रीय पदमार्गमा समेटिए पनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको छैन । दानाको रुप्से, हिस्तानको महभीर, लुलाङको नर्जा, मुदीको घोप्टेओडार, भुङकोटलगायत दर्जनाँै झरना कुनै रुपवती युवतीले ओढेको सेतो पछ्यौरी हावाले उडाउन लाग्दा सम्हालेकोजस्ता दृश्य लाग्छन् ।

घारको पुनहिल, राम्चेको मोहरे, शिखको खोप्रा, भगवतीको रुइसे, कुहुँको टोड्के, बिमको मालिका, भकिम्लीको स्वर्गाश्रम, लुलाङको जलजलालगायत दर्जनाँै टाकुराबाट बिहानीमा लाली छाउँदै उडाउने सूर्योदय हिमालका चुचुरोमा पर्दा चार क्यारेटको सुन टल्किएझँै मनमोहक लाग्छ । खुलेको नीलो आकाश, पाखाभरि फुलेका लालीगुराँसको जङ्गल र पृष्ठभूमिमा गगन चुम्न लागेजस्तो हिमालले यहाँको सुन्दरतामा ताज परि¥याइदिएका छन् ।

बेनपा ९ मा रहेको गलेश्वरमा पछिल्लो समय धार्मिक पर्यटकको आगमन बढे पनि बेनीकै महारानी, वरको रुखमुनि रहेको बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बौद्धगुम्बा, राम्चेको करबाकेली थान, पुलाचौरको जगन्ननाथ, पछै, रघुगङ्गा गाउँपालिकाको रिखार, मालिकाथानलगायत दर्जनौं स्थल भक्तजनको प्रतीक्षामा छन् । ताकमकोट, ज्यामरुककोट, बेनीकोट र भगवतीमा रहेका ऐतिहासिक महङ्खवका कोटहरुको संरक्षण हुन सकेको छैन ।

बेनी, तातोपानी, भुरुङ, दाना, घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि सुविधासम्पन्न होटल सञ्चालनमा छन् । टिकोट, कुहुँको पूर्णगाउँ, झिँ र खिवाङमा होमस्टे सञ्चालन भएका छन् । नागी, मोहरेडाँडा, फूलबारी, टिकोट, ढाँडखर्क, बयली र खोप्रामा सामुदायिक लज सञ्चालन भएका छन् । यी लजको आम्दानी सामुदायिक विद्यालय र स्वास्थ्य संस्था सञ्चालनमा परिचालन गरेर नमुनायोग्य काम भएको छ । मगर, छन्त्याल, थकाली, नेवार समुदायको मौलिक कलासंस्कृति पर्यटन विकासको अर्को आधार हो । तर म्याग्दीमा थुप्रै सम्भावना भए पनि पूर्वाधार एवम् प्रचारप्रसार÷प्रवद्र्धन अभावमा यहाँको अपेक्षाकृत विकास हुन नसकेको गाउँ पर्यटन प्रवद्र्धन केन्द्र (भिटोभ)का पूर्वमहासचिव राजकुमार थापाको भनाइ छ ।

वार्षिक ४० हजार जना पर्यटक भित्रिने म्याग्दीमा आउने ९० प्रतिशत पर्यटकको गन्तव्य घोडेपानी पुनहिल नै हो । पछिल्लो समय पर्यटकको सङ्ख्या बढे पनि उनीहरुले खर्च गर्ने क्षमता भने घटेको घोडेपानीका होटल व्यवसायी एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । धेरै सङ्ख्याभन्दा पनि बढी खर्च गर्न सक्ने क्षमता भएका पर्यटक भिœयाउने योजना÷कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ । आन्तरिक पर्यटक पनि खर्च गर्ने सवालमा बाह्यजत्तिकै सक्षम रहेको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए । पछिल्लो समय आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिइएको छ ।

सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित हुनु यहाँको चुनौती भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलको भनाइ छ ।

जडिबुटी र खानीमा पनि अघि
म्याग्दीमा पाइने जडिबुटीलगायत वन पैदावारको संरक्षण, उपयोग र परिचालन हुन सकेको छैन । यहाँ १ सय ५७ प्रजातिका काष्ठ र गैरकाष्ठ वनपैदावार पाइन्छन् । तर चोरीनिकासी नियन्त्रण हुन नसक्दा जडिबुटीबाट समुदाय र राज्यले लाभ लिन सकेका छैनन् । आव २०७३७४ मा १५ प्रजातिका चार हजार ७ सय ८४ केजी जडिबुटी निकासी भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । म्याग्दीका जङ्गलमा विषजरा, नागबेली, सुगन्धवाल, सतुवा, निरमसी, कुट्की, चिराइतो, अतिस, सिलाजित, लौठसल्ला, पदमचाल, वनलसुन, यार्सागुम्बालगायत जडिबुटी पाइने गरेका छन् ।
बेनपा ९ तोरीपानीलगायत ठाउँमा टिम्मुरको व्यावसायिक खेती पनि गरिँदै आएको छ । हाल बन्द अवस्थामा रहेका ओखरबोट, ताकम, कुइनेमङ्गले, मल्कवाङ, गुर्जालगायत ठाउँका तामा, फलाम खानी सञ्चालनका लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटन क्षेत्र र कला संस्कृति जोगाउन महोत्सव
उत्तम कर्माचार्य, अध्यक्ष, म्याग्दी उवासङ्घ

म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सदरमुकाम बेनीमा मकरसङ्क्रान्ति पर्वका अवसरमा ‘छैटौं म्याग्दी महोत्सव तथा प्रदेश ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७४’ आयोजना गरेका छौँ । स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भिœयाउने र व्यापार प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य हो । महोत्सवसँगै राष्ट्रिय व्यक्तित्वलाई म्याग्दीमा ल्याएर छिमेकी जिल्ला मुस्ताङ र चीनको सीमा क्षेत्रमा रहेको कोरला नाका खुलाउन ‘लबिइङ’ पनि गर्दै छाँै । निर्माणाधीन कालीगण्डकी कोरिडोर सडक आयोजना र कोरला नाका प्रदेश ४ को भाग्यरेखा हो । यसले म्याग्दीलाई व्यापारिक केन्द्र बनाउनेछ । कालीगण्डकी र आसपासको क्षेत्रको आर्थिक, सामाजिक भौतिक विकासका साथै पर्यटक भिœयाउन महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने मेरो अपेक्षा छ ।

२०७५ लाई म्याग्दी भ्रमण वर्ष बनाउँछौं
राजेश शाक्य, द्वितीय उपाध्यक्ष, म्याग्दी उवासङ्घ

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा पर्यटन प्रवद्र्धनका लागि २०७५ लाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउने निर्णय भएको छ । स्थानीय तह, सरोकारवाला सङ्घसंस्थासँग सहकार्य गरेर भ्रमण वर्ष मनाउन लागिएको हो । म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रवद्र्धन र आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने भ्रमण वर्षको उद्देश्य छ । म्याग्दीमा घुम्नलायक ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक एवम् पौराणिक महत्वका धेरै सम्पदा छन् । तिनको मार्केटिङ गरी स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउन भ्रमण वर्ष मनाउन लागिएको हो । पोखरा आउने र मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई म्याग्दीका पर्यटकीय स्थलमा घुम्ने बनाउन प्रवद्र्धनात्मक गतिविधि गरिनेछ । म्याग्दीमा धौलागिरि, अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेन्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुइस र, संसारकै गहिरो अन्ध गल्छीलगायत थुप्रै घुम्नलायक पर्यटकीय स्थल छन् ।