उद्योगी अरुण चौधरी भन्छन्, ‘विदेशी लगानी छैन्, प्रमाणित भए राष्ट्रियकरण होस्’

चौधरीले विज्ञप्ति जारी गर्दै ३÷४ वर्ष पहिला पनि यो विषय बाहिर आएको र त्योबेला समेत यो विषयमा प्रष्ट पारेको बताउँदै सीआईजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६÷७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको उल्लेख गरेका छन् ।

काठमाडौं । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म (सीआईजे) नेपालमार्फत् तयार भएको रिपोर्टमा विदेशमा लगानी गरेको र पैसा राखेको सूचीमा आफ्नो नाम जोडिएको भन्दै उद्योगी अरुणकुमार चौधरीले खण्डन गरेका छन् । गत बुधबार सीआईजेले सार्वजनिक गरेको रिपोर्टमा चौधरी र उनको परिवारका नाममा ब्रिटिश भर्जिन आईल्यान्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएको थियो ।

चौधरीले विज्ञप्ति जारी गर्दै ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको र त्योबेला समेत यो विषयमा प्रष्ट पारेको बताउँदै सीआईजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६/७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको उल्लेख गरेका छन् ।

यस्तै सो कम्पनीमा आफ्नो वा परिवारको कुनै पनि सदस्यको आबद्धता र सरोकार नभएको जानकारी दिएका छन् । ‘जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रासमेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दासमेत प्रष्ट हुन्छ’, विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,– सो कम्पनीको सेयरहोल्डर भनी मेरा छोराहरुको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो । हाम्रा बच्चा सानै हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल्न भनेका थिए, हामीले खोलेनौं ।

यस्तै ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाइ कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानबिन गर्न अनुरोध गरेका छन् ।

त्यसैगरी, दुई विदेशी कम्पनीमा आफ्नो नाम जोडिएकोमा पनि आपत्ती जनाएका छन् । कुनै पनि स्वीस बैङ्कमा खाता नभएको, कुनै ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको तथा सीजी होल्डिङ्ग्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

उनले हालसम्म आफ्नो नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडीआई) नआएको तथा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गर्नसमेत अनुरोध गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘म अटो मोबिल्स, शिक्षा, हस्पिटालिटी, रियलस्टेट तथा उद्योग क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी÷व्यक्ति हुँ, मैले मेरा कम्पनीमार्फत मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको तथा करोडौं रुपैयाँ राजस्वमा योगदान समेत गर्दै आएको कुरा सर्वविदितै छ ।’

विदेशमा लगानीसम्बन्धी ऐनको व्यवस्थालाई आफू र आफ्नो परिवारले पूर्णरुपमा पालना गर्दै आएको उल्लेख गर्दै ऐनको आदेश वा निर्देशनको पालना गर्ने प्रतिबद्धता विज्ञप्तिमार्फत जनाएका छन् ।